युवा संघ बैतडीका सदस्य भाटको हत्या गरिएको आशंका, ४ जनाको नाममा जाहेरी
बैतडी: गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको हत्या भएको आशंका गरिएको छ। मृतकका बुवा बीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत ४ जनाको नाममा किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।
दशरथचन्द नगरपालिका–५ का अशोक नाथ, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी परेको उनले बताए। किटानी जाहेरीपछि प्रहरीले जिल्ला अदालतबाट अनुमति मागेर उनीहरुको नाममा पक्राउ पूर्जी जारी गरिसकेको छ।
भाट लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र उनीसँग भएकाहरुले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको हुन सक्ने मृतकका बुवा बीरसिंह भाटले बताए। प्रहरीले उक्त घटनाको पुनः अनुसन्धान गर्ने जनाएको छ।
दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारको क्रममा गत भदौ ११ धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो।