सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसका ३ शिर्ष नेता सुदूरपश्चिममा, डडेल्धुराको सभालाई सम्बोधन गर्ने

२०७८ असोज १७, ११:२३ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका केन्द्रीय शिर्ष नेताहरु पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा गइरहेका छन्। आइतबार बिहान केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे धनगढी पुगेर डडेल्धुरातर्फ गएका हुन्।

जिल्लाको पार्टी कार्यालय किशुन जी भवनमा १० दिनदेखि कार्यकर्ता अनशनमा बसेका छन्। क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन खारेजको माग गर्दै उनीहरुले रिले अनशन सुरु गरेका हुन्।  पार्टी केन्द्रीय सभापति देउवाले हस्तक्षेप गरेर अवैधानिक वडा र पालिका अधिवेशन गराएको भन्दै सो अधिवेशन बदर गरी नयाँ मिति तोक्नुपर्ने माग राखेर जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले उक्त अनशन थालेको हो।

सोही अनशनमा एक्यवद्धता जनाउँदै डडेल्धुरा बसपार्कमा आयोजना भइरहेको कार्यकर्ता भेलालाई तिनै जना नेताले सम्बोधन गर्ने पार्टीका जिल्ला उपसभापति करुणाकर भट्टले दिए। ‘हामीले क्रियाशील सदस्यताको विवाद सुल्झाएर पुनः वडा अधिवेशनको माग गर्दै पार्टी सभापति र केन्द्रीय निर्वाचन समिति समक्ष निवेदन दिएर अनशन थालेको थियौं,’ उनले भने, ‘तर उताबाट कुनै प्रतिक्रिया आइरहेको छैन। केन्द्रीय सभापति र निर्वाचन समिति बेखबर जस्तै बनेको छ। सोही कारण केन्द्रीय नेताहरु जिल्ला पुग्न लागेका हुन्।’

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानविन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप उक्त पक्षले लगाएको छ। यस्तै आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवाद सृजना भएको जिल्ला सभापति मल्लले बताउँदै आएका छन्। 

उता देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताउँदै आएका छन्। उनीहरुले निर्वाचन समितिका प्रतिनिधिले सम्पन्न गरेको वडा तथा पालिका अधिवेशन नै वैधानिक भएको बताइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस