इपिएलमा पोखराको पहिलो जित
काठमाडौं: पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–ट्वान्टी क्रिकेटमा पहिलो जीत दर्ता गराएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर भेटायो। पोखराको जीतमा रिचार्ड लेभीले अविजित रहदै ३८ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै रित गौतमले १२ तथा साहन अराचिगे १ रनमा अविजित रहे । बलिङतर्फ ललितपुरका अज्मातुल्लाह ओमार्जाइले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल बनाएको थियो। ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाउदा ओशाडा फर्नान्डोले अविजित १० रन जोडे।
नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए। पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए। सन्दीप जोरा शून्य रनमा आउट हुँदा राशिद खान शून्य रनमा अविजित रहे।
ललितपुरलाई सस्तैमा समेट्नक्रमा पोखराका नन्दन यादवले ३ विकेट लिए भने विक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट झारे। वर्षाको कारण आउटफिल्ड भिजेकाले खेल करिब दुई घण्टापछि सुरुवात भएको थियो। जसमा निर्धारित २० ओभरको खेललाई सात ओभरमा घटाइएको थियो। यस जीतसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले २ खेलमा ३ अङ्क जोडेको छ।
पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो। वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अङ्क पाएको थियो। ललितपुरको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा ललितपुर काठमाडौँ किङ्स–११ सँग पराजित भएको थियो।