सबै नागरिकलाई वैशाखसम्म कोरोनाविरुद्धको खोपः राज्यमन्त्री श्रेष्ठ
काठमाडौंः सरकारले सबै नेपाली नागरिकलाई कोरोनविरुद्धको खोप लगाउने अवधि लम्बाएको छ। यसअघि प्रधानमन्त्रीले चैतसम्म सबै नागरिकलाई खोप लगाउने जनाएका थिए। तर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन्।
राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिएका छन्। विश्व मुटु दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले अहिले दैनिक तीन लाख जनालाई सो खोप लगाउने काम गरिरहेको बताए।
सरकारले तीनमहिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको जानकारी उनले दिए। राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड खोप सुनिश्चित गरिएको समेत बताए।