रामारोशन पर्यटन क्षेत्र विकासका लागि गुरु योजना तयार
एकेन्द्र खत्री, अछाम: ४२औँ विश्व पर्यटन दिवस अछाममा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। कोभिड–१९ महामारीकै बिच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक रूपमा दिवस मनाइएको हो। दिवसका अवसरमा रामारोशन पर्यटन क्षेत्र विकास समितिको आयोजनामा वडा नम्बर ५ रामारोशनमा स्थानीयसँग अन्तक्रिया कार्यक्रम गरिएको छ। रामारोशन पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष चत्र बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रामारोशन पर्यटन क्षेत्र विकासका लागि स्थानीय, सरोकारवाला निकाय र राजनीतिक दलको भूमिकाबारे केन्द्रित रहेर छलफल गरिएको हो।
यसैबीच कोरोना संक्रमणका कारण थला परेको अछामको पर्यटकीय क्षेत्र रामारोशन बिस्तारै लयमा फर्किन थालेको छ। रामारोशनमा अवस्थित रोशन, रामे, जिंगाले तालकै कारण पनि आन्तरिक पर्यटकको चहलपहल बाक्लो हुने गरेको छ।
मनमोहक ताल, अग्ला पहाड, विभिन्न रङ्गीबिरङ्गी फूलहरूले पर्यटकहरूको मन आकर्षित हुने हुँदा पनि रामारोशनमा पर्यटकहरूको आवागमन बढीरहेको रामारोशनका स्थानीयहरूले बताएका छन्। करिब २ वर्षदेखि कोरोनाको महामारीका कारणले लकडाउन हुँदा पर्यटकीय गन्तव्य रामरोशनको होटेल व्यवसाय प्रभावित बन्न पुगेको थियो।
सरकारले घोषणा गरेको १०० गन्तव्यमा पर्न सफल भएको रामारोशनमा पर्यटकले होटेलमा पनि चहलपहल बढ्न थालेको छ। कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्र विकासका लागि विभिन्न प्रयास भइरहेको व्यवस्थापन समितिको अध्यक्ष चक्र रावलले बताए। उनले एकतर्फ संक्रमणले थला परेको र अर्कोतर्फ बाढीका कारणले सडक बिग्रेकाले सोचे अनुरूप रामारोशनको पर्यटन क्षेत्रको विकास नभएको उल्लेख गरे।
उनले पर्यटन क्षेत्रको विकासका लागि आफू जहिले पनि सकारात्मक भएको उल्लेख गर्दै स्थानीय, विभिन्न सरोकारवाला निकाय र राजनीतिक दलले पनि सहयोग गर्नुपर्ने बताए।
उनले पर्यटकहरूलाई भित्र्याउन लागि पर्यटकीय मार्ग निर्माण, सडक बिस्तार, प्रचार प्रसार, होटेल तथा होम स्टे व्यवस्थापनमा जोड दिइने बताए। उनले रामारोशन पर्यटन क्षेत्र विकासका लागि गुरु योजना तयार भएको जानकारी दिए।