सेतो हेडफोनवाली
-यज्ञ राज गिरी
फेसबुकमा भेटिएको उसको तस्बिरले मेरो मन बर्षात पछिको बगर झै बनायो। सेतो हेडफोनमा सजिएकी उ एकै पलमा मेरो आँखामा प्रवेश गरी मनमा राज गर्न थाली। न उसको अनुहार याद छ मलाई, न पहिरन। बस त्यहि एउटा सेतो इयरफोन। खै ! के सुन्दै थिइ दुवै कान हेडफोनले टिमिक्क ढाकेकी थिई। त्यो पहिलो भेट बन्यो उ सँगको। केहि दिन उ मेरो मनमा घुमिरही। तर फगत बने उ सँगका सबै यादहरु, भेट्ने सबै आशहरु। न उसको बास थाहा छ न उसको खास। कसैलाई सुम्पिसकेको मन हो या सुम्पिनु बाँकि केही थाहा भएन।
खालि सेतो इयफोनबाली मनभरी डुल्न थाली। समयसँगै कयौं रात अनिँदा बिते। लाग्थ्यो दिनको आयु बढेर रातलाई धम्काईरहेको छ। म निदाउन सकिन मनमा उसलाई नै डुलाइरहे। बस त्यहीँ सेतो सफा रङको हेडफोन जस्तै उसको मन। यो मनपनि कस्तो बैमानी हुँदोरहेछ नदेखेको नचिनेको मनको पनि हजारौं कल्पना तनभरी, मनभरी। पूर्णिमाको रातमा भेटिएको त्यो तस्बिर धेरै पूर्णिमा आइसक्दा पनि देखिन।
भेटिने आशमा साँझ नपर्दै चार्ज फूल फोन हातमा लिइन्थ्यो र लो ब्याट्री बनाएर राखिन्थ्यो। मनले उसँगको भेट्ने आशलाई अझै बिट मारेको थिएन तर झिनो आशमात्र थियो। लामो समय झरी पछिको मौसम खुले झै भयो त्यो रात फेसबुकमा एउटा फोटो पोस्ट गरी सेतो हेडफोनवालीले। तर फोटोमा अनुहार ‘ब्लर’ हुनेगरी खिचेकी थिइ। अनुहार आफ्नै कपालले ढाकेकी थिई। एउटा उपन्यासको कभर, पेज झै थियो उसको त्यो फोटो। मनले सोच्यो भेट यतिमै सिमित भए पनि ठिकै छ। सेतो हेडफोनकी मुख्य पात्र बन्छिन्। हेडफोनवालीको कानमा कलात्मक तरिकाले बुट्टा कुदिएको झुम्का थियो। त्यसले कानको मात्र हैन अनुहारकै शोभा बढाएको हुनुपर्छ। गजुरले मन्दिरको शोभा बढाएझै अब मेरो उसलाई भेट्ने आशाका केही किरण थपिए।
अहिलेसम्म उ हेडफोनवाली मात्र थिइ अब झुम्कावाली पनि भई। कानको लोतीमा झुन्डिएर गालामा टाँसिएका उसका झुम्का पनि अपराधी समात्न प्रहरीले खोजतलास गरेको प्रमाण जस्तै बन्यो मेरा लागि। अब उसलाई म जहाँ देखे पनि चिन्न सक्छु। तर दिनरात, हप्ता, महिना बितिसक्दा पनि उसको केही पत्तो पाइन। न फेसबुकको वालमा कुनै फोटो नै पोष्ट गर्छे। म उसको प्रतिक्षामा सधैं अनलाइन हुन्छु तर उसको त्यो आइडीबाट कहिल्यै फ्रेन्ड रिक्वेस्ट आएन।
मेरो मनमा डेरा जमाएर अर्कै मनमा बास बसेझै गरी त्यो झुम्कावालीले। अरुका लागि एउटा गहना मात्रै बन्थ्यो होला त्यो झुम्का तर मेरा लागि त लहना बनेको छ। मनभरीका पानाहरु पल्टाई रहन्छ निरन्तर खोजीरहन्छ त्यहि हेडफोन र झुम्का। सिल्की कपालले ढाकिएको त्यो कानमा सजिएको झुम्का मन्दिरको पवित्र घण्टा जस्तै थियो। सुनौलो रङमाथि सेता क्र्यास्टल दानाहरुले अझै गुण थपे झै लाग्यो। म उसको कल्पना मै डुबिरहेको थिए।
फेसबुकमा गएर उसको प्रोफाईल हेर्न मन लाग्यो। सर्च गरे उसको नाम र गए प्रोफाईलभित्र। उसले फिलिङ स्याड लेखेर रसाएका आँखाको फोटो पोस्ट गरेकी रहेछ। मेरो मन भारी भयो। खै ! के भएर यस्तो लेखी ? मनमा प्रश्नहरुको चाङ भारी भएर बस्यो।
आज आफैले उसलाई फ्रेन्ड रिक्वेस्ट पठाउने निधो गरे। मुटुको ढुकढुकी बढ्दै थियो हात काँप्दै थियो। एड फ्रेन्डमा हात जान्छ अनि रोकिन्छ। धेरै चोटी प्रयासरत औलाहरु रित्ता फर्किए। सुनसान कोठा, छटपटिरहेको मन अनि शान्त हुँदै गइरहेको बाहिरको बस्ती। गाडीका हर्न बज्न कम हुँदै जान्छन्। अब मलाई लाग्यो सबै निदाईसके म मात्रै छट्पटीमा निदाउन सकिन। त्यहीँ सेतो र सुनौलो रङमा अल्झिरहेको छु। किन, उसलाई फिलिङ स्याड भएको होला ? एकतर्फि बजिरहेको कोठाको टेलिभिजन अफ गरे। अब बाँकी निदाउन नसकेको म र निरन्तर चलिरहेको घडीको टिकटिक आवाज मात्रै छ।
कतिखेर लाग्थ्यो किन म उसलाई यसरी फलो गरिरहेको छु। कतिखेर लाग्थ्यो यहि त माया हो। उसलाई थाहै नदिइ उसलाई फलो गरिरहनु, उसका हरेक कुरालाई ख्याल गर्नु घरीघरी उसको फेसबुक प्रोफाईल चेक गरिरहनु। म खरायोको गतिमा उसको प्रोफाईल हेरिरहन्छु उ भने कछुवा गतिमा पोस्ट गर्छे। यदि अरुको प्रोफाईल हेरेको रेकर्ड हुन्थ्यो भने यात उसले मेरो नाममा उजुरी गर्थी या उसको जीवनमा धेरै माया गर्ने मायालु भनेर ईनाम पेश गर्थी। त्यो रेकर्ड न फेसबुकसँग छ न त मेरी झुम्कावाली सँग नै !
निरन्तर चलिरहेको घडीमा रातिको १२ बज्यो। मोबाइल चार्जमा राखे, कोठाको लाईट अफ गरे र फेरि बेडमा पल्टिए। अहिलेसम्म कल्पनामा मात्र सिमित रहेकी हेडफोनवाली आँखै अगाडि झलक्क देखापरी। सुन्तला रङ्गमा खैरो रङ्गको कम्बिनेसन। पाखुरीमा दुवै पट्टी बुट्टा पारेर सिलाइएको सिम्पल कुर्ता अनि खैरो रङ्गको सलवार। सेतो डायलमा कालो फित्ता भएको घडी र हल्का गाढा रङको लिपिस्टीक लगाएकी उ कपाल खोलेर मेरो अगाडि उभिई, म छक्क परे !
उसले मुसुक्क हाँस्दै आँखा ठूलाठूला पारी। रिसले हो या मायाले ठम्याउन सकेन तर म लज्जावती फुलझै ओइलिए। बोलचाल केही भएन उ निरन्तर अगाडि बढिरही मेरा नजर उसको पछिपछि दौडिरहे। उ क्षितिज पारी पुगि मलाई एकपटक नहेरी, म झल्यास्स बिउँझिए घडीले पाँच बजाइसकेछ।
विपनी जस्तै लागेको भेट ट्रोनाडोको वेगझै तहसनहस भयो। विपनामै हारेको म सपनीमा पो कहाँ न्याय पाउँथे र। फिल्मको ट्रेलर हेरेझै भई ऊ, न मनले सन्तुष्टि पायो न मेरो कल्पनाको सस्पेन्स सकियो। मनमा झनझन खुलदुली बढ्न थाल्यो, सपनीमा आएकी गाढा लिपिस्टिकवालीसाच्चिकै सेतो हेडफोनवाली होली र ?
मनले मनलाई हजारौं प्रश्नपत्रको उत्तर एकै सेकेन्डमा माग्न थाल्यो। तर सबै कन्फ्युज छन् यहाँ उत्तर कसैसँग छैन। बरु आकाशका तारा गन्न सकुला म तर उसको यादको बर्षात कति भयो मसँग कुनै खाता छैन। ब्याट्री सुक्ने गरी चार्जमा लगाएको फोन चार्जबाट निकालेर हातमा लिए। फोनको चार्जरकेवल नै राम्ररी नलागेको रहेछ जस्तो लाग्यो फेरि चार्जमा लगाए। अब चार्ज नै उठाउँदैन फोनले। टेबुलमा राखेको ल्यापटप हातमा लिन्छु।
सिरानी भित्तामा अडाएर सिरकले खुट्टा छोप्छु अनि ल्यापटपको पावर बटन थिच्छु। बुढेसकाल लागेर झरेका कपाल झै, हिउँदमा चिसो सहन नसकी पुरै पात झरेका ओतविहीन छहाँरी हुँदै अगाडी बढीरहेकी, बर्षात छेक्न हो या सुकिलो अनुहारलाई घामले नपोलोस भनेर हो, हल्का रातो रङको छाता ओड्दै अगाडि बढीरहेकी केटीसहितको वालपेपर देखापर्छ।
म अरु कुरालाई वास्तै नगरी सिधै नेट कनेक्टिङ छ छैन हेर्छु। क्रोम ब्राउजरमा गएर टाईप गर्छु डब्लुडब्लुडब्लु डट फेसबुक ढट कम। सिधै आफ्नो आइडी र पासवर्ड राखेर फेसबुक लगिन गर्छु। फ्रेन्ड लिस्टमा एकजनाको रातो संकेत देखिन्छ। उता नोटिफिकेशन भने नाईन्टी नाईन प्लस थिए। मेरो मनको ढुकढुकी बढ्न थाल्यो। पहिले नोटिफिकेशन हेरु या फ्रेनलिस्ट। करसरलाई नोटिफिकेशनमा राखेर क्लिक गरे र हेर्दै गए तर आशामा डुबेका आँखा निरास भएर बन्द भए। सय भन्दा बढीका नोटिफिकेशनमा हेडफोनवालीको कतै नाम थिएन। मेरो मनले यति सम्झ्यो कि न उसले मेरो प्रोफाईल चेक गरी, न कुनै फोटोमा लाइक कमेन्ट र रियाक्ट नै गरी।
भारी मनलाई अब फ्रेन्ड लिस्टमा लगे र हेरे कालो पर्दामा केटीको आकृति देखिने फ्रेम थियो र नाम थियो ‘चिना हराएको मान्छे’। फेक आइडी जस्तै लाग्यो भित्र गएर हेरे। सी अबाउट ईन्फमेसन, सबै खालि थिए।
अक्सर उसका इन्फमेसनहरु लेखेकी थिइ। वर्क मा स्टुडेन्ट। रिलेसनसिप सिङ्गल, लिभ्ड डडेल्धुरा अनि केही अदर नेम पनि थिए। उसलाई घरमा बोलाउने नाम हुन या धेरै माया गर्ने मान्छेले आफ्नी पियारी भनेर सम्बोधन गर्ने नाम हुन् सानी र कान्छी भनेर लेखेकी थिई उसले। केही पेजहरु पनि लाइक गरेकी थिइ प्रेम कथा र लभ डायरी जस्ता.... क्रमश