ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ७-२ ले पराजित
काठमाडौँः नेपाल कतारमा भएको मैत्रीपूर्ण फुटबल खेलमा ओमानसँग ७-२ गोलअन्तरले पराजित भएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले ओमानसँग तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेको थियो।
ओमानलाई जित दिलाउन अब्दुल्लाहजिज अल मुक्बालीले दुई तथा फामी शेद, मोसेन जाहेर, इसाम अल शुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले समान एक/एक गोल गरे। दोहास्थित कतार युनिभर्सिटीको मैदानमा भएको खेलको पहिलो हाफमा २-१ को अग्रता लिएको ओमानले दोस्रो हाफमा पाँच गोल प्रहार गऱ्यो।
साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्ने नेपाली टोलीले अक्टोबर शुक्रबार आयोजकको सामना गर्नेछ। प्रतियोगिताको १३औं संस्करणसम्म आइपुग्दा फाइनल पुग्न असफल नेपाली टोली यसपटक त्यो यात्रा गर्ने तयारीमा छ।