डडेल्धुरामा जनगणनाका लागि सुपरिवेक्षक घर–घरमा
हरिश चन्द, डडेल्धुरा: राष्ट्रिय जनगणना–२०७८ अनुसार डडेल्धुरामा जनगणनाका घरपरिवारको सूचिकरण संकलन सुरु भएको छ। जिल्ला जनगणना कार्यालय डडेल्धुराले सुपरिवेक्षकहरूलाई तालिम दिएर भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा परिवारको सूचिकरण गर्न सुपरिवेक्षकहरू घरदैलोमा खटाएको छ।
जिल्ला जनगणना अधिकारी चन्द्रबहादुर पालले सुपरभाइजरहरू घर तथा परिवारको विवरण संकलनका लागि घरदैलोमा पुगेको बताउँदै सुपरिवेक्षकहरूले सोधेको प्रश्नको सही तथ्याङ्क र सूचना उपलब्ध गराउन आग्रह गरेका छन्।
परिचालित सुपरिवेक्षकले घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घरको स्थिति, घरक्रम, परिवारको संख्या, कृषि लगायतको विवरण सुपरिवेक्षकहरूले संकलन गर्ने जिल्ला जनगणना अधिकारी पालले बताए।
सुपरिवेक्षकहरूले लिएको विवरणअनुसार कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनाका लागि गणकहरू घरदैलोमा पुग्नेछन्। कोरोना महामारी फैलिएपछि २०७८ जेठ २६ गते देखि असार ८ गतेसम्मको जनगणनाको कार्यक्रम स्थगित भएको थियो। तर भदौ २१ गतेको मन्त्रिपरिषद्को बैठकले २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १२औँ जनगणना गर्ने निर्णय गरेअनुसार डडेल्धुराले पनि तयारी सुरु गरेको हो।