आईपीएलः दिल्लीद्वारा राजस्थान रोयल्स ३३ रनले पराजित
धनगढीः इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत शनिबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ। दिल्लीले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो।
राजस्थानका कप्तान सञ्जु स्यामसन ५३ बलमा ८ चौका र एक छक्कासहित ७० रनमा अविजित रहे। तर स्यामसनबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर लियाम लिभिङस्टोन १, यशस्वी जैसवाल ५, डेविड मिलर ७, महिपाल लोमर १९, रियान पराग २ र राहुल टेवाटिया ९ रनमा आउट भए।
दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। आवेश खान, रविचन्द्रन आश्विन, कागिसो रबाडा र अक्षर पटेलले एक एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ बिकेट गुमाउँदै १५४ रन बनाएको थियो। दिल्लीका श्रेयस ऐरले ३२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए। शिम्रन हेटमायरले १६ बलमा ५ चौका सहित २८ रन जोड्दै आउट भए। ओपनर पृथ्बी शाह १०, ऋषभ पन्त २४, शिखर धवन ८, ललित यादव १४ र अक्षर पटेलले १२ रनको योगदान गरे।
राजस्थानका मुस्ताफिजुर रहमानले ४ ओभरमा २२ रन खर्चेर २ बिकेट लिए। चेतन सकारियाले २, कातिक त्यागी र राहुल टेवाटियाले एक एक बिकेट लिए।
राजस्थानलाई पराजित गरेसँगै दिल्ली अंकतालिका शीर्षस्थानमा उक्लिएको छ।