सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरी सदरमुकाममै

२०७५ मंसिर २२, ०३:३०

सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्र्ने उद्देश्यसहित यहाँ आएको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ। गत असोजमा आएको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाट नगई सदरमुकाम गढीमा स्थापना भएको हो। सरकारले सबै जिल्लामा सशस्त्रको उपस्थिति गराउने निर्णयानुसार यहाँ पहिलोपटक गुल्म स्थापना गरेको छ। सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयबाट सीमामा बस्नका लागि अनुमति दिन ढिलाइ हँुदा सदरमुकाममै बसेको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त पन्तले जानकारी दिनुभयो। शुरुका केही दिन झुलाघाटमा बस्नको लागि घर नमिलेकाले सदरमुकाममै बस्नुपरेको र अनुमति दिनासाथ सीमामा सारिने उहाँले बताउनुभयो। गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायसँग मिलेर काम गर्ने नायब उपरीक्षक पन्तले बताउनुभयो। सो गुल्ममा तत्कालका लागि १६० जनशक्ति रहने भएको छ। कार्यालय स्थापनासँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुल दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागुऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय रहेको उनले बताए। रासस

कमेन्ट लोड गर्नुस