देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशनको माग राख्दै पार्टी कार्यालयमै रिले अनशन
धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीको क्रियाशील सदस्यता र वडा अधिवेशनको विवाद झन तातेको छ। क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले विरोध गर्दै आएको छ।
विरोधकै क्रममा आज (बिहीबार) मल्ल पक्षधरहरुले जिल्लाको पार्टी कार्यालय किशुन जी भवनमा अनशन सुरु गरेका छन्। हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गरिनुपर्ने र भदौ २५ मा गरिएको वडा अधिवेशन अवैधानिक भएकाले फेरि अधिवेशन गराउन नयाँ मिति तय गर्नुपर्ने भन्दै अनशन थालिएको पार्टी उपसभापति करुणाकर भट्टले बताए।
पार्टी केन्दीय सभापति शेरबहादुर देउवाले अवैधानिक अधिवेशन गराएकाले सो अधिवेशन बदर गरी नयाँ मिति तोक्नुपर्ने उनको आग्रह छ। एकलौटी रुपमा वडा अधिवेशनका कार्यक्रम गरिएको उनको आरोप छ। यस्तै जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानविन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप उक्त पक्षले लगाएको छ।
तर, आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवाद सृजना भएको जिल्ला सभापति मल्लले बताउँदै आएका छन्। उता देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताउँदै आएका छन्।