सरकारी युनिट शुन्य वडामा स्वास्थ्यचौकी भवन निर्माण
कुनैपनि सरकारी कार्यालय नरहेको बैतडीको पाटन नगरपालिकाको वडा नम्बर ९ मा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ। वडाको टकर भन्ने ठाँउमा स्वास्थ्यचौकी निर्माण भएपछि शुक्रबार देखी सेवा सञ्चालनमा आएको छ। स्वास्थ्यचौकी नभएका जिल्लाका १६ वडा मध्ये पाटन नगरपालिका ९ नम्बर वडामा स्वास्थ्यचौकी स्थापना भएको हो। वडाका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सजिलो होस भन्ने उद्देश्यले वडामा स्वास्थ्यचौकी सञ्चालन गरिएको वडा अध्यक्ष लोकबहादुर भण्डारीले बताए। उनले भने ‘ यसअघि वडाबासीले स्वास्थ्य सेवा लिनका लागि अर्को वडामा जानुपर्ने बाध्यता थियो, हाम्रो वडामा सरकारी सयन्त्र केहि पनि थिएन् जबकी हामीले वडा कार्यालयका लागी समेत भवन नपाउदा वडा न.८को खोड्पेमा वडा कार्यालय स्थापना गरेका थियौँ, अहिले स्वास्थ्यचौकीको आफ्नै भवन बन्यो वडा बासि निकै खुसि भएका छाँै’उनले भने। जिल्ला स्वास्थ्य कार्यालय र वडा कार्यालयको करिब साढे नौ लाखको लगानिमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो। स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीय धनसिंह भाटले ३ रोपनी र बहादुर भाटले २ रोपनी जमीन दान गरेका थिए। गाउँमै स्वास्थ्यसेवा प्राप्त हुन थालेपछि स्थानीयबासीहरु खुसी भएका छन्।
‘वडा कार्यालय स्थापना भएको डेढबर्ष पछि हामीले आफ्नै वडामा स्वास्थ्य सेवा प्राप्त गरेका छौं,गर्भवती महिलाहरुलाई प्रसुती सेवा लिन खोड्पे पुग्नुपर्ने बाध्यता थियो, स्वास्थ्यचौकी स्थापना भएपछि हामीलाई अब सजिलो भएको छ ।’ स्थानीय सरु लोहारले भनिन् ,। ‘गाउँमै स्वास्थ्य सेवा पाएपछि अब हामीलाई धेरै सजिलो हुने भएको छ । बालबालिकाहरुलाई खोप लगाउन, गर्भवती महिलाको चेक जाँच गर्न र सुरक्षित प्रसुती सेवा लिनका लागि सजिलो हुनेछ ।’ स्वास्थ्यचौकी उद्घाटन भएसगैँ शुक्रबारबाटै सेवादिन सुरु गरिएको छ ।