धनगढीमा प्रभावशाली व्यक्तिको जग्गा जोगाउन नागबेली नाली !
धनगढी : धनगढीमा संघीय सरकारले निर्माण थालेको सडकमा विवाद कायमै रहेको छ। एशियाली विकास बैँकको ऋण सहयोगमा सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइअन्तर्गतको क्षेत्रीय सहरी विकास अयोजनाले निर्माण थालेको सडकमा विवाद कायमै रहेको हो।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ को शहीद गेटदेखि वडा नम्बर ८ को क्याम्पस गेटसम्म ३ दशमलव ६५ किलोमिटर सडकका विभिन्न ठाउँमा नाली बाङ्गोटिङ्गोे निर्माण हुँदैछ। प्रभावशाली केही व्यक्तिको घर, पर्खाल तथा जग्गा बचाउन नाली बाङ्गोटिङ्गा निर्माण गर्न लागिएको आरोप लगाइएको छ।
धनगढीको मुख्य सडकपछि सबैभन्दा बढी चलनचल्तीको सडक निर्माण भइरहेकोमा एकतर्फी मात्रै सडक क्षेत्र खाली गराइएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। उनीहरुले पहुँचवाला व्यक्तिको जग्गा जोगाउने चलखेल भइरहेको आशंका गरेका छन्। डिभोटी हाटेल क्षेत्रमा सडकको जग्गा मिच्दा उत्तरतर्फका जग्गा धनी मर्कामा परेको स्थानीय दीर्घराज जोशीले बताए। ‘ऐश्वर्यले आफ्नो पर्खाल सारेर बाटो खाली गर्यो, तर वीमा कम्पनीदेखि डिभोटी होटेलसम्मको सडकको जग्गा मिचिएको छ,’ उनले भने, ‘सडकको बिच भागबाट बराबर लिँदा पनि यो क्षेत्रमा उत्तरतर्फका जग्गा धनीहरु मर्कामा परेका छन्।’
शहिद गेट–क्याम्पस गेट सडकका धेरै स्थानमा सडक क्षेत्राधिकारको विवाद रहेको देखिन्छ। उत्तरबेहडी चोक, तारानगर चोक, हसनपुर क्षेत्र, चकमेली बजार, शिवनगर तथा क्याम्पस रोडलगायतका क्षेत्रमा पहँुचवाला व्यक्तिको जग्गा बचाउन चलखेल भएको गुनासो गरिएको छ। नाली नागबेली आकारको बनाउँदा घरसमेत पर्न लागेको क्याम्पस रोडका स्थानीय शम्भुकुमार बस्नेतको गुनासो छ।
‘क्याम्पस रोडमा नाली नागबेली जस्तो बनाइदै छ, रोडको मध्य विन्दुबाट नापेर समान साढे १० मिटरमा नाली बन्नु पर्ने हो,’ उनले भने, ‘यहाँ सडकको पश्चिमतर्फभन्दा पूर्वतर्फ च्याप्ने काम भएको छ।’
२१ मिटर चौडाई भएको क्याम्पस गेट सडकमा, सडकको बीचभागबाट दुबै तर्फ समान साढे १० मिटर जग्गामा सडकको क्षेत्राधिकार कायम हुनुपर्नेमा पश्चिमतर्फ साढे १० मिटरभन्दा कम जग्गा खाली गराउने नियतले पूर्वतर्फमात्रै सडक च्याप्ने काम भएको गुनासोे अर्का स्थानीय राजु मिश्रको भनाई छ। ‘दुबैतर्फ बराबर जग्गा लिँदा यदि हाम्रो संरचना पर्छ भने हामी भत्काउन तयार छौँ, तर न्यायपूर्ण तरिकाले काम हुनुपर्यो,’ उनले भने, ‘अन्यत्र सडक सिधा हुने हाम्रो घर आसपासमा मात्रै बाङ्गो भएको छ।’
संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजनाअन्र्तगत सडक निर्माण सुरु भए पनि सडक क्षेत्र खाली गराउने जिम्मा धनगढी उपमहानगरपालिकाको हो। तर सडक क्षेत्र खाली गर्ने कार्य न्यायसंगत नभएको स्थानीयको आरोप छ। तर धनगढी उपमहानगर वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले विवाद भएको ठाउमा धेरै पटक अमिन लगेर नापेको बताए। ‘हामीले धेरै पटक त्यो ठाउँमा अमिन लगेर नाप्ने काम गरेका छौँ, उहाँहरुलाई पनि अमिन लिएर नाप्ने भनेका छौँ,’ उनले भने, ‘नक्सामा हेर्दा दुबैतर्फको जग्गा जान्छ, हामी मिलाउन लागिपरेका छौँ।’