कृष्णपुर नगरपालिकामा आर्थिक बेथितिको चाङ
वीरेन्द्र भट्ट
धनगढी : स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव तथा सल्लाहकार राख्न पाउने व्यवस्था छैन। तर कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले भने ऐनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेका छन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएभन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्न पाउने व्यवस्था छैन। मेयर हमालले भने सुविधा सम्वन्धि ऐन र स्थानीय सरकार सञ्चालन ऐनविपरीत गएर स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेर तलब समेत राज्य कोषबाट वितरण गरेका हुन्।
कृष्णपुर नगरपालिकामा हुँदै आएको आर्थिक अनियमितता जथाभावी कर्मचारीचारी भर्ना बन्द गर्नुपर्ने माग राख्दै पटकपटक विरोध र ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएको कृष्णपुर नगरपालिकाका मेयर पदका प्रत्यासी हेमराज ओझाले बताए। ‘आफूअनुकुल आवश्यकता भन्दा बढी सवारी साधन खरिद गरेर थन्क्याउने काम पनि भएको छ,’ उनले भने, ‘कृष्णपुर नगरपालिका आर्थिक अनियमितताको अखडा नै बनेको छ।’ सार्वजनिक खरिद ऐन २०६३ ले सार्वजनिक निकायले तोकेको सीमाभन्दा बढी रकमको खरिद गर्दा तोकिए बमोजिमको खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्नुपर्ने व्यवस्था छ।
तर कृष्णपुर नगरपालिकाले भने सार्वजनिक खरिद ऐनलाई लत्याएर खरिद गुरुयोजना बिना नै २३ करोड ७८ लाख खर्च गरेको छ। जबकी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७ ले वार्षिक १० करोड भन्दा बढीको खरिद गर्दा अनिवार्य रुपमा खरिद योजना बनाउनुपर्ने व्यवस्था छ।
ऐन र नियमावलीलाई मिचेर कृष्णपुर नगरपालिकाले करोडौ रुपैयाँ आफूअनुकुल खर्च गरेको पाइएको हो। साथै नगरपालिकाको आन्तरिक आय र राजस्व बाँडफाँटको प्रक्षेपणसमेत तथ्यपरक देखिदैन्। तर कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिबसिंह भण्डारीले भने आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताउँछन्।
‘यहाँले भनेअनुसार ठुलै अनियमित भए जस्तो देखिन्छ, म अध्ययन गरेर मात्र जवाफ दिन सक्छु,’ उनले भने, ‘कृष्णपुर नगरपालिकामा म आएको धेरै समय भएको छैन।’ अर्थ मन्त्रालयको स्थानीय तहमा बजेट तर्जुमा कार्यान्वनय आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्वन्धि निर्देशिका २०७४ अनुसार नेपाल सरकारबाट उपलब्ध गराएको बजेट तथा स्रोत साधनबाट सवारी साधन खरिद गर्न नपाउने व्यवस्था छ।
तर कृष्णपुर नगरपालिकाले उक्त निर्देशिका विपरीत गएर २६ थान मोटरसाइकल र ८ थान चार पाङ्ग्रे सवारी साधन खरिद गरेर तीन करोड ८ लाख १७ हजार ९ सय २० रुपैयाँ खर्च गरेको छ। जुन निर्देशिका विपरीत गएर सवारी साधन खरिदमा गरिएको खर्च रकम हो।
तर कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले भने सबै विषय मेयरलाई जानकारी नहुने बताए। ‘स्वकीय सचिव र सल्लाहकार राख्ने कानुनी व्यवस्था भएकाले मेयर र उपमेयरले राख्न पाउँछ,’ मेयर हमालको दाबी छ।
आधारबीना राजस्व छुट दिएको, बक्यौता असुलीमा प्रभावकारीता नआएको, बजेट अनुशासन कमजोर रहेको, वर्षान्तमा बढि खर्च गरेको, कानुनविपरित सोझै खरिद गरेको, अत्याधिक प्रशासनिक खर्च गरेको, बचत अनुदान फिर्ता नगरेको तथा वितरणमुखि खर्चको बाहुल्यता रहेको जस्ता प्रवृत्ति कृष्णपुर नगरपालिकामा देखिएका छन्।