सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमन विरूद्ध नेपालको ऐतिहासिक जित

२०७८ असोज ३, १०:४६ रासस

काठमाण्डौः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गराएको छ। ओमनको अल अमिरात क्रिकेट मैदानमा जितको लागि १२२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएको थियो। एकदिवसीय क्रिकेटमा नेपालले ओमनलाई पहिलो पटक पराजित गरेको हो।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनको योगदान दिएका हुन्। युवा ओपनर आसिफ शेख ४४ बलमा ७ चौका सहित ४० रनमा अविजित रहे। नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरे। ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए। कुसल ६ रनमा बाहिरिँदा रोहितकुमार पौडेल पनि ६ रनमा नै आउट भए। त्यस्तै शरद् भेषावकर विजयी रन बटुल्दै एक रनमा अविजित रहे।

ओमनका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनले ३७ ओभर दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो। ओमनका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए। उनले ६६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिएका हुन्। यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुशी १२ रनमा आउट भए। सन्दीप गौडले ८ तथा आयन खानले ७ रन जोडदा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे। कालिमउल्लाह ११ रनमा अविजित रहदाँ बिलाल खानले ९ रन बनाए।

ओमनलाई सस्तैमा समेट्नेक्रममा तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे।  करण र सन्दीपले ४र४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए।  सन्दीपले ८ दशमलव १ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका हुन्। त्यस्तै करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिन सफल भए।

शरद्ले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिएका हुन्। यस जितसँगै नेपालले सिरिजको सुखद् अन्त्य गरेको छ। सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोरे। सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ओमनसँग ५ विकेटले पराजित भएको थियो। यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो।

ओमानलाई हराएपछि नेपाल लिग–२ को चौथो स्थानमा उक्लिएको छ। नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ। ओमन १३  खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ। नामिबिया ७ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा छ। युएई ७ खेलमा ७ अङ्क जोड्दै छैटौँ स्थानमा छ। पपुवा न्युगिनी ८ खेलमा नै हारका साथ अङ्क विहीन हुँदै अन्तिम स्थानमा छ।

कमेन्ट लोड गर्नुस