दुहुँ गाउँपालिकामा बिजुली नहुँदा अन्धकार, प्राधिकरण अनविज्ञ
दार्चुला: सदरमुकाम नजिकै रहेको दार्चुलाको दुहुँ गाउँपालिका फेरि अन्धकारमय बनेको छ। यही भदौ १३ गते आएको बाढिपहिरोपछि गाउँपालिका अन्धकारमय बनेको हो। अहिले स्थानीयवासी पुनः सोलार र टुकीको भर पर्नुपरेको छ।
“गाउँपालिकाभर रहेका पाँच वटा विद्युत् बाढीपहिराले बगाएपछि गाउँवासी अन्धकारमा बसेका छन्”, गाउँपालिका अध्यक्ष कार्कीले भने, “विद्युत् नहुँदा मोबाइल चार्ज गर्नै गाउँवासीलाई सास्ती छ।”
बाढीपहिरोका कारण कालागाड लघुजलविद्युत् हिकिला ४३ किलोवाट, कालागाड लघुजलविद्युत् ब्रह्मदेव दोस्रो ४५ किलोवाट, ब्रह्मदेव लघु जलविद्युत् ५० किलोवाट, भास्कर लघुजलविद्युत् पिपलचौरी भाडी ४० किलोवाट र सुत्खोला लघुजलविद्युत् १० किलोवाट पूर्णरूपमा ध्वस्त भएको अध्यक्ष कार्कीले बताए।
विद्युत्को नाम निसाना मेटिएको छ। लघुजलविद्युत्ले गाउँपालिकाभरि विद्युत् पुगेको थियो। अहिले सबै ध्वस्त भएपछि गाउँपालिका २०औँ वर्ष विकासमा पछाडि धकेलिएको छ। विद्युत् बनाउन कति बजेट चाहिने हो हिसाब छैन। पूरै विद्युत्गृहदेखि प्रसारण लाइन सबैमा क्षति पुगेको छ।
गाउँपालिकामा तत्काल राष्ट्रिय प्रसारण लाइन जोड्न विद्युत् प्राधिकरण दार्चुलालाई आग्रह गरिएको अध्यक्ष कार्कीले बताए। अहिले दुहुँ–१ पिपलचौरीमा मात्रै विद्युत्को पहुँच पुगेको प्रवक्ता डडालले बताए। वडा नं २ र वडा नं ३ का केही घरधुरीमा लाइन जोडिएको छ। बाढीपहिरोले विद्युत्का खम्बा, मेनलाइन सबै बगाएपछि विद्युत् जडानमा ढिलाइ भएको उनले बताए। अहिले प्राधिकरणले ठेक्कामार्फत काम गराए पनि सबै ठाउँमा तत्काल बत्ती पुग्ने सम्भावना नरहेको उनको भनाइ छ।
अहिले गाउँपालिकाको कुन कुन वडा र बस्तीसम्म विद्युत् लाइन विस्तार भए छ भन्नेबारे नेपाल विद्युत् प्राधिकरण दार्चुला भने अनविज्ञ छ। “अहिले मलाई कुन वडा र कहाँ बत्ती पुगेको छ भन्ने केही जानकारी छैन”, नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख पदमबहादुर बमले भने, “एक दुई वडामा ग्राहक बनेजस्तो लाग्छ, तर यकिन विवरण छैन।”