सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब सञ्चय कोषले जग्गा खरिदका लागि पनि कर्जा दिने

२०७८ भदौ ३१, ०४:०७ खबर संवाददाता

धनगढी: कर्मचारी सञ्चय कोष ६०औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय धनगढीले छिटो छरितो र सहज सेवा प्रवाहमा जोड दिने जनाएको छ। वार्षिकोत्सवको अवसरमा कोषले बिहीबार नै घरजग्गा खरिद कार्यक्रम सुरुवात गरेको छ। यसअघि घर खरिद तथा निर्माणको लागि कर्जा दिने गरिएकोमा अब जग्गा खरिदको लागि पनि सुलभ ब्याजदरमा कर्जा प्रवाह गरिने छ। 

आजैदेखि जग्गा रोक्का/फुकुवा र धितो पास अनलाइनमार्फत गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ। हाल धितोमा आधारित सापटीको लागि ७.९ प्रतिशत ब्याजदर कायम गरिएको छ।

सम्पूर्ण सेवा तथा सुविधा अनलाईनमार्फत प्रदान गर्ने गरी सबै सञ्चयकर्ताको ‘केवाइसी’ विवरण अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको प्रमुख राजेन्द्र विक्रम केसीले बताए। अनलाईन विशेष सापटी सुविधा, विभिन्न भुक्तानी तथा सापटी रकम सञ्चयकर्ताकै बैंक खातामा भुक्तानी गर्ने र कनेक्ट आइपिएसमार्फत सापटी फिर्ता गर्न सकिने व्यवस्थाले सञ्चयकर्ताले घर वा कार्यालयबाटै विशेष सापटी लिन तथा तिर्न सक्ने सुविधा कोषले गत वर्षदेखि सुरु गरेको थियो। 

सबै कारोबारहरुको जानकारी एसएमएसमार्फत जानकारी दिने व्यवस्था, कल सेन्टरको स्थापना, डाटा सेन्टरको स्थापना, अनलाईन रिकन्सिलिएसन जस्ता कार्यहरुमार्फत कोषले प्रविधिमा फड्को मारेको जनाइएको छ। यस्तै सञ्चयकर्तालाई प्रदान गरिने कोषको परिचय पत्रलाई प्रतिस्थापन गर्ने उद्देश्यले विद्युतीय परिचय पत्र प्रदान गर्ने कार्य सुुरु गरिएको छ।

कोषले वार्षिक बचतबाट सञ्चयकर्ताहरुका लागि बिभिन्न सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्नुका साथै आर्थिक आवश्यकता पूरा गर्न विभिन सापटीहरु प्रदान गरिरहेको छ। कोषले सामाजिक सुरक्षाका कार्यक्रम अन्तर्गत काजकिरीया अनुदान खर्च, दुर्घटना क्षतिपूर्ति योजना, सुत्केरी तथा शिशु हेरचाह लगायतका शीर्षकमा खर्च प्रदान गरिरहेको छ। सञ्चयकर्ताको स्वास्थ्योपचार शीर्षकमा साधारण रोगको उपचारको लागि प्रत्येक आर्थिक वर्षमा १ लाखसम्म र घातक रोगको उपचार गर्न सेवा अवधिमा अधिकतम १० लाखसम्म सोधभर्ना प्रदान गरिरहेको छ।

कर्मचारी सञ्चय कोषको स्थापना २०१९ भदौ ३१ मा भएको थियो। कोषद्वारा सुदूरपश्चिमका सञ्चयकर्तालाई लक्षित गरी धनगढी शाखामार्फत २०६१ देखि सेवा प्रवाह भइरहेकोे छ। यस क्षेत्रका करिब एक लाख सञ्चयकर्ता कोषको सेवाबाट लाभान्वित भइरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस