सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट लिग-२: नेपाल ओमानसँग पाँच विकेटले पराजित

२०७८ भदौ ३०, ०८:२३ रासस

काठमाडौँ: आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ। 

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो। एक सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१ दशमलव एक ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो। 

जतिन्दर सिंहको शतकमा ओमानले नेपाललाई सहजै पराजित गर्न सकेको हो। सिंहले उत्कृष्ट खेल प्रदर्शन गरे। उनले ६२ बल खेल्दै १०७ रन बनाए। प्लेयर अफ दी म्याच भएका उनले छ छक्का र १२ चौका प्रहार गरे। यस्तै मोहमद नदिमले अविजित ३८, सुरज कुमारले २० र आयन खानले १८ रनको योगदान दिए। बलिङतर्फ नेपालका कुशल मल्ल र करन केसीले दुई/दुई तथा सुशन भारीले एक विकेट लिए। 

त्यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा आशिफ शेखले ९० रनको योगदान दिएका थिए। उनले ११२ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१, करन केसीले २१, रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए। बलिङतर्फ ओमानका बिलाल खानले चार, नेस्टोर धम्बाले दुई तथा जेशन मसुद र मोहमद नदिमले एक/एक विकेट लिए। 

जितसँगै ओमान लिगको शीर्षस्थानमा कायमै रहेको छ। ओमान ११ खेलमा नौमा जित तथा दुईमा हारका साथ १८ अङ्कसहित शीर्षस्थानमा छ। नेपाल भने हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित तथा तीनमा हारका साथ आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ। 

आइसिसी विश्वकप लिग–२ खेलिरहेको अमेरिका १३ खेलमा छ मा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो, स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारसहित नौ अङ्कसहित तेस्रो, नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो, युनाइटेड अरब इमिरेटस् (युएई) सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजयका साथ अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ। 

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन्। लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन्। नेपालले अब शुक्रबार अर्को खेल अमेरिकासँग छ। 

कमेन्ट लोड गर्नुस