सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा हरेक दिन २ जनाले गर्छन् देहत्याग, किन बढ्दैछ आत्महत्या ?

२०७८ भदौ २९, ०६:१२ नारायण अवस्थी

धनगढी : सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि भइरहेको छ।  गत ५ वर्षको तथ्यांक हेर्दा प्रेदशका सबै जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ। मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने निराशापनका कारण आत्महत्याका घटना हुने गरेको प्रहरीले बताउने गरेको छ। 

पछिल्लो ५ वर्षमा सुदूरपश्चिमका ९ जिल्लामा २ हजार ६ सय ४५ जनाले आत्महत्या गरेको विवरण नेपाल प्रहरीसँग छ। यो तथ्याङकले प्रदेशमा प्रत्येक दिन २ जनाले देहत्याग गरेको देखाउँछ। गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सुदूरपश्चिम प्रदेशमा ६८२ जनाले आत्महत्या गरेका छन्। यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ३९ जनाले आत्महत्या गरेका छन्। भने, पाँच आर्थिक वर्षमध्ये २०७३/०७४ मा भने सबैभन्दा कम ४ सय ३२ जनाले आत्महत्या गरेको तथ्यांक छ। आर्थिक वर्ष २०७५/०७६ मा ४ सय ९० ले आत्महत्या गरेकोमा २०७४/०७५ मा भने ४ सय ९९ सयले आत्महत्या गरेको अभिलेख राखिएको छ। 

आत्महत्या बढ्नुको कारण व्यक्ति मानसिक रुपले  विक्षिप्त हुनु रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीको बुझाइ रहेको छ। ‘एक सेकेण्डको निर्णयले मानिस आत्महत्या गर्न पुग्छ। तर हामीहरुले हेर्दा आत्महत्याको प्रमुख कारण मानसिक विक्षिप्ताताको अवस्था हो,’ उनले भने, ‘कतिपय आत्महत्याहरु आवेशमा गरिएको देखिन्छ। कतिपय आत्महत्या नशा सेवन गरेको अवस्थामा गरेको देखिन्छ। कतिपय सम्बन्ध तथा आर्थिक कारणले भएको देखिन्छ।’

कैलालीमा सबैभन्दा बढी दुई सय ६१ जनाले एक वर्षमै देह त्यागेका छन्। यस्तै कञ्चनपुरमा १९५, अछाममा ४४, बैतडी र डडेल्धुरामा ४३÷४३ जनाले आत्महत्या गरेका छन्। बझाङमा ३६, डोटीमा २३, दार्चुलामा २२ र बाजुरामा १५ जनाले गत वर्ष आत्महत्या गरेका छन्। 

आत्महत्या गर्नुको पछाडि मानसिक समस्या रहेको धनगढीका मनोचिकित्सक डाक्टर प्रभात सापकोटाले बताए। ‘विभिन्न अध्ययनले देखाए अनुसार ६० देखि ९० प्रतिशत आत्महत्याको कारण मानसिक रोग हुन्छ’ उनले भने, ‘पुरै त नियन्त्रण गर्न निकै चुनौतिपूर्ण छ। तर मानसिक स्वास्थ्यको ख्याल राख्यौँ भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।’

चिकित्सकहरुले मानसिक समस्याको समयमै उपचार गर्न सकिए आत्महत्याका घटनामा कमी आउने बताएका छन्। सामान्यतया मानसिक समस्याका लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित मानसिक परामर्श र उपचार दिनुपर्ने बताइएको छ।

मानसिक विचलन आएमा परिवारका सदस्यले मानसिक उपचार तथा परामर्शका लागि शीघ्र मनोचिकित्सक कहाँ लैजान सुझाव दिइएको छ। यस्तै कारण खोजी गर्दै नियन्त्रणका प्रयास पनि नहुँदा आत्महत्या रोक्न थप मुस्किल हुन थालेको छ। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस