भएन धनगढी डुबान समस्याको समाधान, संघर्ष समिति गठन
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा डुबान हुने समस्या समाधान गर्न सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन्।
वडा नम्बर ३ मा हरेक वर्ष बर्सातमा डुबान भइरहेको भन्दै उपमहानगरले दीर्घकालीन समाधान निकाल्नुपर्ने स्थानीयले बताएका छन्। स्थानीयले २०२१ सालको नापीको आधारमा नगरपालिकाले डुबानको क्षेत्र, नाला क्षेत्र तथा अतिक्रमित क्षेत्र पत्ता लगाएर डुबान हुन नदिन बर्सातको पानी तथा ढल निकासको योजना ल्याउनुपर्ने माग गरेका छन्।
यहि साउन ४ गते धनगढी वडा नम्बर ३ मा डुबान हुँदा ६ लेन सडकमा बनाइएको कल्भर्ट प्रहरी प्रशासन परिचालन गरेर खोल्न खोज्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको थियो। बर्सातपछि वडा नम्बर ३ डुबानमा पर्दा प्रशासनले बल प्रयोग गरेर बन्द गरिएको कल्भर्ट खोल्नु परेको थियो।
धनगढीमा वडा नम्बर १, २, ३, ४, ५, ७ तथा १३ मा हरेक वर्ष डुबान हुने गरेको छ। तर वडा नम्बर ३ सबैभन्दा डुबान प्रभावित भएका कारण उपमहानगरले समाधान दिनुपर्ने स्थानीय सुरेन्द्र भण्डारीले बताए। ‘डुबानको समस्या समाधान गर्नुपर्यो भनेर संघर्ष समिति बनाएर उपमहानगरपालिकामा आएका छौँ। विगतमा पनि पटकपटक समाधान निकाल्न अनुरोध गरेका छौँ’ उनले भने, ‘हामी भन्दाभन्दै थाकी सक्यौँ। उपमहानगरले कहिलेसम्म कसरी यो समस्याको सम्बोेधन गर्छ त्यो भन्नुपर्याे।’
वडा नम्बर ३ मा २०५९ देखि डुबानको समस्या बढेको संघर्ष समितिका अध्यक्ष जयबहादुर थापाको दाबी छ। स्थानीयले पटकपटक डुबान समाधान गर्न आवाज उठाएपनि कुनै काम नहुँदा अहिलेपनि दर्जनौ घरभित्र पानी रहेको थापाले बताए। ‘२०५९ सालदेखि डुबान हुन थालेको हो। हामीले धेरै प्रयास गर्दा पनि समस्याको समाधान भएन। वडामा धेरै घरभित्र अझै पानी छ’ उनले भने, ‘उपमहानगरले २०२१ सालको नापीको आधारमा डुबान क्षेत्र, नाला क्षेत्र तथा अतिक्रमित क्षेत्र पहिचान गरिदिनुपर्याे।’
यस्तै वडा अध्यक्ष बलबहादुर ऐरले पनि डुबानको कारण वडा नम्बर २ र ३ का स्थानीयबीच विवाद हुने गरेको बताएका छन्। धनगढी उपमहानगरपालिकाले भदौभित्रै डुबानको समाधान गर्ने बताउँदै आएकोले त्यो कामको सुरुवात चाँडै गर्नुपर्ने उनले बताएका छन्। ‘अस्ति भएको झडपमा स्थानीय र प्रहरी घाइते भएका थिए। अझै पानीको निकास गर्न नसकिए आगामी वर्षमा स्थिति झन तनावपूर्ण हुने देखिन्छ’ उनले भने, ‘मेयर सा’पले भदौभित्रै समाधान खोज्ने भन्नुभएको छ। काम सुरु भए बरु हामी दुई तीन वर्षसम्म डुबान सहन तयार छौँ।’
उता धनगढी उपमहानगपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीको बजार क्षेत्रका ४ वडा डुबान हुनुको कारण ६ लेन सडक रहेको बताएका छन्। उनले ८ महिनाभित्रै रफ्तारका साथ काम गरेर डुबानको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। ‘६ लेन सडकले गर्दा वडा नम्बर २, ३, ४ तथा १३ मा डुबान बढेको हो। अहिले सबै कुरा अनुकुल भएकाले डुबानको समस्या समाधान गर्न सबै पक्षसँग कुरा गर्ने र बजेटको व्यवस्था गरेर काम अगाडि बढाइने छ’ उनले भने, ‘नगरप्रमुखको हैसियतले मेरो पहिलो प्राथमिकता धनगढीको ढल निकास गर्नु रहेको छ।’
धनगढीमा नगर विकास समितिले जथाभावी सार्वजनिक जग्गा विक्री गरेका कारण तथा नगरपालिकाले पानीको बहाव क्षेत्र, खोलानाला, नहर तथा कुलोमा पर्ने जग्गामा समेत घर निर्माण गर्ने अनुमति दिएको कारण नगरमा डुबानको समस्या बढ्दै गएको बताइन्छ। उपमहानगर प्रमुख नृपबहादुर वड भने असोजदेखि नै डुबानको समस्या हल गर्न ठोस कदम चाल्ने बताउँदै आएका छन्।