एघार अर्ब बराबरको धितोपत्र सूचीकृत
नेपाल स्टक एक्सचेञ्जमा करीब ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ।
बैंकका अनुसार तीन अर्ब पाँच करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ। स्टकमा हालसम्म कूल एक सय ९८ कम्पनी सूचीकृत छन्।
सूचीकृत कम्पनीमध्ये एक सय ४७ बैंक तथा वित्तीय संस्था छन्। त्यसमा बीमा कम्पनी समेत छन्। यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन्। स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन्।
होटल तथा व्यापारिक संस्थाका चार/चार कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन्। स्टकमा सूचीकृत शेयरको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ। रासस