सवारी चालक अनुमति पत्रमा खुलेआम आर्थिक अनियमितता
बर्दियाबाट गत मंसिर ४ गते कारको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परिक्षा दिन धनगढी आएका प्रविन चौधरीले कार प्रयोग गरे वाफत ड्राईभिङ सेन्टरका प्रतिनिधिलाई नगद पाँच सय रुपैया तिरे। प्रयोगात्मक परिक्षा दिन फाप्ला क्रिकेट मैदान नजिकै रहेको ट्रायलस्थल भित्र प्रवेश गर्ने बितिकै पाँच सय तिरेपनि चौधरीले नगद रसिद नपाएको बताए।
ड्राईभिङ सेन्टरका प्रतिनिधिले रकम उल्लेख नगरेको एउटा चिट दिएपनि अली पर पुग्दा प्रवेश पत्र र सो चिट ट्राफिक प्रहरीले लगेको चौधरीले बताए। सवारी चालक अनुमति पत्रको परिक्षामा चालक प्रशिक्षण केन्द्र, ट्राफिक प्रहरी र यातायातका कर्मचारीको मिलमतोमा आर्थिक अनियमितता मौलाएको छ।
सबै भन्दा बढि आर्थिक अनियमितता हुने आरोप खेप्दै आएको यातायात कार्यालयले सवारी प्रशिक्षण केन्द्र र ट्राफिक प्रहरीसँगको सेटिङ्मा खुलेआम असुली धन्दा गरिरहेको छ। चौधरीको मात्र होईन, प्रयोगात्मक परिक्षामा सवारी चालक प्रशिक्षण केन्द्रको जिप र कार प्रयोग गर्ने हरेक व्यक्तीले रकम तिरेपनि नगद रसिद नपाएको बताएका छन्। व्यवसाय दर्ता गरेर सञ्चालनमा रहेका हरेक व्यवसायिक फार्महरुले कारोवार गर्दा प्यान वा भ्याट विल अनिवार्य रुपमा दिनुपर्ने भएपनि धनगढीका प्रशिक्षण केन्द्रहरु मनोमानी रुपमा रकम असुलिरहेका छन्। सो रकममा ट्राफिक प्रहरी र यातायातका कर्मचारीले पनि भागवण्डा गर्ने गरेको आरोप लागेको छ।
धनगढीमा रहेका एक दर्जन सवारी चालक प्रशिक्षण केन्द्रका कार र जीपहरु प्रयोगात्मक परिक्षाका लागि प्रयोग भइरहेपनि रकम संकलन गर्ने व्यक्ती एक जना मात्रै थिए भने यातायातका कर्मचारी र ट्राफिक प्रहरीको उपस्थितिमा नै यो काम भईरहको थियो।
सवारी साधन प्रयोग भए वाफत उठेको रकमको हिसाब राख्न सजिलो होस भनेर परिक्षार्थीबाट व्यक्तीको नाम उल्लेख भएको तर रकम उल्लेख नभएको रसिद ट्रायल स्थलमा ट्राफिक प्रहरीले जम्मा गरेको आरोप लागेको छ। तर जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक अनिल उप्रेतीले त्यसमा प्रहरीको कुनै संलग्नता नरहेको दावी गरे।
उनले ड्राईभर कतै गएका बेला प्रहरीले सहयोग गरेको तर परिक्षार्थीको नाम उल्लेख भएको चिट आफूहरुले जम्मा नगरेको जिकिर गरे। त्यो दिन उप्रेती स्वयंम आफै ट्रायल स्थलमा उपस्थित थिए । दिनेश खबरले त्यो दृष्य खिच्दा आक्रोसित मुद्रामा आएका प्रहरी सहायक निरिक्षक नैनबहादुर सावदले भिडियो खिच्न नपाईने भन्दै रोकेका थिए।
परिक्षार्थीबाट रकम असुलेर नगद रसिद उपलब्ध नगराएको विषयमा सेती ड्राईभिङ स्कुल संघ कैलालीका सचिव कपिन्द्र बोहोराले आपसी समझदारीमा गाडी उपलब्ध गराउने हुँदा रकम तिरेको नगद रसिद उपलब्ध नगराएको दावी गरे।
उनले परिक्षामा बढिजसो आफ्नै विद्यार्थीहरुको सहभागिता रहेको बताए। विगतदेखी नै आपसी समझदारीमा भाडामा गाडी उपलब्ध गराउदै आएकाले नगद रसिद पनि नदिने गरेको दावी उनको थियो। तर व्यवसाय दर्ता गरेर सञ्चालनमा रहेका हरेक व्यवसायिक फार्महरुले कारोवार गर्दा प्यान वा भ्याट विल अनिवार्य रुपमा दिनुपर्ने हुन्छ।
यातायात व्यवस्था कार्यालयका प्रमुख विसन सिह थापा त पछिल्लो समय सवारी चालक अनुमति पत्रको परिक्षामा हुने अनियमितता घटेको जिकिर गर्छन्। यातायात व्यवस्था कार्यालयका अनुसार मंसिर २ गतेदेखी भएको जीप र कारको प्रयोगात्मक परिक्षामा पाँच सय ८१ जनाले सहभागिता जनाएका छन्।
प्रयोगात्मक परिक्षा दिने प्रायः सबैले ड्राईभिङ सेन्टरकै सवारी साधन प्रयोग गरेको बताईएको छ। यो तथ्याङकलाई मात्र हेर्ने हो भने प्रयोगात्मक परिक्षा दिने पाँच सय ८१ जनाबाट २ लाख साढे ९० हजार रकम उठेको देखिन्छ । जसमा सरकारले झण्डै ४० हजार राजश्व गुमाएको छ भने सो रकम ट्राफिक प्रहरी, यातायातका कर्मचारी र ड्राईभिङ सेन्टरवाला मालामाल भएका छन्।