सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा चरम लापरवाही, ४ महिनामा ६६ शिशुको मृत्यु

२०७५ मंसिर १७, ०७:१३ कमल सावद

धनगढी उप–महानरगपालिका वडा नम्बर ९ घुईयाघाटका गणेश ऐरले श्रीमती आस्थालाई व्यथा लागेपछि सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा पुगाए। त्यहाँ चेकजाँच गर्दा बच्चाको अवस्था सामान्य रहेको भनियो तर सुत्केरी हुने वेलामा त्यहाँ कार्यरत नर्सिङ कर्मचारी र डाक्टरले भ्याकुम लगाएर सुत्केरी गराउँदा बच्चाको टाउको माथिल्लो भागको छाला नै निस्कियो। तर बच्चा जन्मिएको केही समयपछि नवजात शिशुको मृत्यु भयो।  बच्चा जन्मिने बेलामा स्वास्थ्यकर्मीकै लापरबाही भएकाले शिशुको मृत्यु भएको आफन्तको आरोप छ। 
गत कार्तिक १७ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ झलारी की २२ बर्षीय तुल्सी धामीको शिशु जन्मिएको दुई दिनमा मृत्युभयो। १४ गते बिहान सुत्केरीलाई ब्यथा लागेपछि सेती अञ्चल अस्पताल ल्याईएकोमा उनको १५ गते शल्यक्रियाबाट बच्चा निकालियो। स्वास्थ्यमा समस्या आएपछि समयमै चिकित्सक नआउँदा शिशुको मुत्यु भएको आरोप पनि धामीका आफन्तले लगाएका छन् । 

प्रसुती वार्डमा समय–समयमा बच्चा साटिएको घटनाहरु समेत भईरहेका छन्। डडेल्धुराको आलीतालका भावना बोहोरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण साटिए। भदौ १८ गते काली खातीको बच्चालाई सन्चो भएको भन्दै उनलाई चिकित्सकले डिस्चार्ज गरेपछि उनले गोदावरी नगरपालिका स्थित जमुनाभाडीमा रहेको घर पुग्दा आफ्नी छोरीको सट्टा अर्कैको छोरा आफुलाई दिएको थाहा पाए। 

सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा स्वास्थ्यकर्मीले गर्ने रुखो व्यवहार कुनै नौलो कुरा होईन। उनीहरुको लारवाही झन् झन् बढ्दै गएको छ। उपचारमा मनपरी गरिरहेका स्वास्थ्यकर्मीको हालीमुहाली वढ्दा त्यहाँ सुत्केरी गराउन पनि डराउनुपर्ने अवस्था सिर्जना भएको छ। कतिपय प्रसुती वार्डमा लगेर त्यहाँको स्थिति देखेर फर्किन समेत थालेका छन्। सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा मात्रै असार यता ६६ जना नवजात शिशुको मृत्यु भएको छ। अस्पतालले भने अधिकासं मृत शिशु जनिमएको दावी गरेको छ। 

तर त्यसमा कुन नर्सिङ र कुन स्त्रीरोग विशेषज्ञ चिकित्सकको लारवाहीका कारण भएको त्यो भने अस्पतालले दिन मानेन्। प्रसुती वार्डका स्वास्थ्यकर्मीहरुले लापरवाही गर्दै आएका बिषयमा अस्पताल प्रशासन पनि जानकार छ। तर कारवाही भने कुनै स्वास्थ्यकर्मीलाई भएकोे छैन्। अञ्चल अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने प्रसुती वार्डमा भईरहेको लापरवाही स्वीकार्न मानेनन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस