धनगढीकी भगवतीकाे दुखेसो, ‘श्रीमान सौता लगेर भारत पसे, यता परिवारले यातना दियो’
धनगढीः धनगढीकी २७ वर्षीया भगवती सिंह उनका श्रीमान धीरेन्द्रले उनीमाथि सौता ल्याई भारतमा बस्दै आएको आरोप लगाएकी छिन्। आफू र छोराहरुलाई छोडेर भारत गएका धीरेन्द्रले भगवतीलाई यातना दिने गरेको समेत उनको आरोप छ।
फोनमा कुरा नै नगर्ने धीरेन्द्रले कुरा गर्न खोजेपनि गाली गर्ने गरेको उनी बताउँछिन्। ‘तँलाई मैले छोडिसकेको हुँ, अब मेरो तसँग कुनै सम्बन्ध छैन, जहाँ जान्छेस्, जे गर्छेस् गर्, मेरो घरबाट निस्कि मात्र भन्छ’, उनले भनिन्। उनीहरुका दुई छोरा छन्। जेठो छोरा कुशल ११ वर्ष र कान्छो छोरा आदित्य ६ वर्षका छन्। ‘मैले मलाई नहेरे पनि यिनीहरुलाई त हेर्नुपर्यो, यिनीहरुलाई कसले पढाउँछ भने। उसले मलाई मतलब छैन। जसरी पढा भन्यो, माइतीमा जा, उतै बस्, उतैबाट खर्च माग भन्छ’, उनले भनिन्।
कान्छो छोरा भगवतीसँगै बस्छन् भने जेठो छोरा भगवतीकी फुपू सासूसँग बस्छ। ‘उसलाई भैँसी चराउन पठाउँछन्, गोठालो बनाएका छन्। उ मसँग बस्न नै मान्दैन, म भएको ठाउँमै आउँँदैन, यिनीहरु(श्रीमानका परिवार)ले के–के पो सिकाएका छन्’, उनी भन्छिन्। फुपू सासू ससूराले घरमै आएर कुटपिट गर्ने गरेको समेत उनी बताउँछिन्। ‘उनीहरु पनि आएर ममाथि कुटपिट गर्छन् घरमा सासूससूरा, देवरले पनि कुट्छन्’, उनले रुँदै भनिन्।
यसअघिको कोभिड १९ महामारीका समयमा श्रीमानले भारतमा आफूलाई एक्लै छाडेर आएको र त्यहाँ पनि श्रीमानले बेच्न खोजेको उनी बताउँछिन्। ‘मलाई सधैँ पिट्थ्यो, तँलाई यतै बेचेर जान्छुँ भन्थ्यो, पछि मलाई भारतमा यतैका चिनेका केही मानिसले बचाए। अनि म घर फर्कन सके’, उनले भनिन्।
अब आफूलाई अंश नै नदिई सम्बन्धविच्छेद गर्नका लागि पुरै परिवारले आफूलाई कुटपिट गर्ने गरिरहेको उनले बताइन्। उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि धेरै पटक निवेदन दिएको भएपनि आफ्नो समस्या हल नभएको बताइन्। धनगढी उप महानगरपालिकाले पनि धेरै पटक विवाद मिलाउन कागज बनाई हस्ताक्षर गर्न लगाउँदा समेत अझैँ आफूले यातना सहनु परिरहेको उनले दुखेसो गरिन्। श्रीमानको दोस्रो बिहे पनि सासू ससुराले नै गराएर भारत पठाएको उनको आरोप छ।
यता उनका ससुरा दिलबहादुर सिंह बझाङको जयपृथ्वी नगरपालिका १३ मा आफूहरुको तीन तले घर रहेको र आफ्ना तीनै छोरालाई अंशबण्डा गरिसकेको बताउँछन्। ‘बाबु बाजेका पालादेखि अलग भएर नबसेका हामी अहिले अलग हुनु परेको छ। तीनै जना छोरालाई घरका तीन वटै तला भाग लगाइ दिइसके। मसँग अब केही पनि छैन। उता जग्गा पनि छ। बनाएर खाउ भन्दा धनगढीमै बस्ने जिद्दी गरी’ उनले प्रश्न गर्दै भने, ‘अब यता खान लाउन हामी आफैलाई गाह्रो छ। यसका लागि कहाँबाट ल्याउने ?’ छोराले बिहे गरेर लगेकी केटी आफूहरुले नदेखेको उनी बताउँछन्।
‘यिनीहरुको सम्बन्ध कसरी बिग्रियो हामीलाई थाहा भएन। यसअघि म पनि जान्छु भन्दै यो भारत गई, पछि छोराले कोरोनाले गर्दा काम बन्द भयो घर आउँछु भन्यो मैले पनि आइज भने, यो चाँही एकजना दाइसँग आउँछु भनेर आइन’, उनी अगाडि भन्छन्, ‘पछि यसले सँगै आउँछु भनेको दाइ पनि घर आयो, यो आइन। आफूलाई बुहारीले गलत आरोप लगाएर प्रहरी चौकीमा १२ दिनसम्म थुनाएको उनले आरोप छ।
‘म बुढो मान्छेलाई यसले कुट्छ पिट्छ भनेर चौकीमा थुनाई, पछि म कोरोना संक्रमित भएँ अनि घर आएँ, बुढेसकालमा चौकी पनि पुग्नुपर्यो। यसले चाहेकी के हो बुझ्नै सकिएन। छोरालाई हामीले सिकायौँ रे, न हामीसँग मोबाइल छ न त नम्बर नै। अनि उ पनि हामीसँग कुरा गर्दैन’, उनले मलिन अनुहार पार्दै भने, ‘आफ्नै छोरालाई हामीकहाँ आउँछ भनेर पिट्छे, यो जेठो छोरो त उ सँग जानै मान्दैन, पिटेपछि बच्चाहरु आमा हो भन्दैमा बस्न मान्ने त भएनन् नि।’
भगवतीका सासू ससुराले छोरा बुहारीबीच किन मनमुटाव भयो त्यो आफूहरुले बुझ्न नसकेको बताए। बुहारीलाई बनाएर खाउ भन्दा नमान्ने उल्टै झगडा गर्ने गरेको उनीहरु बताउँछन्।