सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका किसानले अनुदान लिए, काम गरेनन्

२०७८ भदौ २५, १०:५० कमल सावद

धनगढी : कोरोना भाइरसको संक्रमणको त्रासले गरिएको निषेधाज्ञाबाट प्रभावित किसानलाई लक्षित गर्दै सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा कृषि अनुदानको कार्यक्रम सञ्चालन गर्यो।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र कैलालीले ६९ किसान तथा संस्थालाई २० लाख ७० हजार वितरण गरेको थियो।

तर अनुदान पाएका सबै किसानले कृषि कार्यक्रमलाई निरन्तरता नदिएको पाइएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा (डी) गाउँका गणेशदत्त भट्टले अनुदान पाएको बताउदै अहिले खेती नभएको बताए। उनले भने, ‘पहिले खुसार्नी, प्याज, आलु लगाएको हो। अहिले छैन होला। अझ लगाउने हो।’

तरकारी खेती, च्याउ खेती तथा टनेल निर्माणको लागि ज्ञान केन्द्र कैलालीले अधिक्तम प्रति किसानलाई ३० हजारका दरले अनुदान दिएको थियो। तर अनुदान पाएका केही किसानले राम्रो कृषि व्यवसाय गरे पनि अधिकांशले कार्यक्रम गर्न छाडेको पाइएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का महना जोशी भट्टले च्याउ खेतीमा अनुदान पाएको बताइन्। उनले भनिन्, ‘च्याउ खेतीमा नाम निस्कीएको हो। घरमै गरेको हो। अनुदानको रकमबाट टनेल बनाएका छौ।ँ’

निषेधाज्ञाका कारण कृषि क्षेत्रमा समेत ठूलो नोक्सानी भएको छ। कृषि क्षेत्रको पुनस्र्थापनाका लागि प्रदेश सरकारले अनुदान दिएको हो। तर अधिकांश किसानले अनुदानको रकम न्यून भएकालेसमेत समस्या भएको चुरे गाउँपालिका वडा नम्बर २ का किसान केशब बोहराले बताए। ‘मेरो डेढ लाख खर्च भएको छ।

तर मैले २८ हजार मात्र पाए,’ उनले भने। कृषि ज्ञान केन्द्र कैलालीले किसानले दिएको बिलको अधारमा रकम भुक्तानी गरेको थियो। तर कार्यक्रमलाई निरन्तरता दिए/नदिएको बारेमा अनुगमनसमेत भएको छैन।

तर कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले ५० प्रतिशत अनुदान दिएको बताए। ३० हजार अधिक्तम रकम भए पनि कामको अधारमा भुक्तानी दिएको उनको दाबी छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस