देउवा भन्छन्ः डडेल्धुराको अधिवेशन केही दिन पछाडि सर्छ
धनगढीः कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरामा देखिएको सदस्यताको विवाद साम्य पार्न केही दिन अधिवेशन सार्ने संकेत गरेका छन्। २१ जिल्लासहित डडेल्धुरामा सदस्यताको विषय नटुंगिएपछि ध्यानाकर्षण गराउन पुगेको नेता रामचन्द्र पौडेल पक्षका नेताहरुसँगको भेटघाटमा देउवाले सदस्यताको विषयमा मिलाउन आफू तयार रहेको बताएका छन्।
‘२१ जिल्लाको क्रियाशील सदस्यता नामावली टुंगिएका छैन। छानविन समितिले प्रतिवेदन दिए पनि अझै क्रियाशील सदस्यता नटुंगिदा समस्या भएकोबारे सभापतिको ध्यानाकर्षण गरायौं । कतिपय जिल्लामा दिन नपर्नेलाई सदस्यता दिइएको छ। कति दिनुपर्नेको नाम काटिएको छ। पार्टी अफिसमा धर्ना बस्नुपर्ने क्रम अझै नसकिएको र सभापतिकै जिल्लामा विवाद रहेको भन्दै हामीले ध्यानाकर्षण गरायौं’ भेटमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘जवाफमा सभापतिले सदस्यताको विषय छिटो मिलाउन आफूले पहल गरिहेको बताए। डडेल्धुरामा देखिएको विवाद मिलाउन २५ भदौका लागि तोकिएको वडा तहको अधिवेशन केही दिन पछाडि सार्ने वचन सभापतिले दिनुभएको छ।’
जिल्लाबाट पठाएर वेबसाइटमा प्रकाशित भएको भन्दा अलग र तलमाथि गरिएको सूची जिल्लामा पुगेको भन्दै डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्लले अधिवेशन स्थगित भएको बताएका छन्। तर, निर्वाचन समितिले २५ भदौमा वडा तहको अधिवेशन हुने सूचना निकालेका थिए। डडेल्धुरा सभापति देउवाको गृहजिल्ला हो। सभापतिकै जिल्लामा सदस्यतामा विवाद देखिएपछि पूर्व संस्थापनले अरु जिल्लामा पनि पार्टी संस्थापनले मनोमानी गरेको हुन सक्ने भन्दै पौडेल पक्ष त्रसित भइरहेको छ।