सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा परीक्षा फारम भरेका विद्याथीको प्रवेशपत्र आएन, ४ विद्यार्थीको मेहनत खेर गयो

२०७८ भदौ २३, ०४:३० खबर संवाददाता

एकेन्द्र खत्री, अछाम: अछामको सदरमुकाम मंगलसेनमा रहेको अछाम बहुमुखी क्याम्पसमा परीक्षाको फारम भरेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। स्नातकोत्तर तहको तेस्रो सेमेस्टरका लागि परीक्षाको फारम भरेका विद्यार्थीहरूले परीक्षा दिन नपाएका हुन्। 

स्नातकोत्तरको पहिलो र दोस्रो सेमेस्टरको परीक्षा दिएकी मंगलसैन नगरपालिका वडा नम्बर ९ का सविता भट्टराई स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा दिन यही भदौ २० गते क्याम्पस पुगिन्। क्याम्पस पुगेकी भट्टराईले प्रवेश पत्र माग्दा उनको प्रवेश पत्र भेटिएन। परीक्षा दिनका लागि होम सेन्टरमा पुगेकी भट्टराईको मात्रै नभई अन्य ४ जना विद्यार्थीको समेत प्रवेश पत्र नभेटिँदा उनीहरू पनि परीक्षा दिनबाट वञ्चित भएका छन्। 

सोही क्याम्पसमा अध्ययनरत मंगलसेन नगरपालिकाका नन्दराज ढुंगानाका अनुसार मास्टर डिग्रीको सेकेन्ड सेमेस्टरको परीक्षामा सहभागी हुनका लागि उनले आवश्यक सबै शुल्क बझाउनुका साथै परीक्षा फारम स्वयम् आफैले भरेका थिए। तर क्याम्पसको लापरबाहीका कारण परीक्षा प्रवेश पत्र नआएपछि यस अघिको सेकेन्ड सेमेस्टरको परीक्षामा सहभागी हुन नपाएको उनको भनाई छ। 'सबै फारम भरेपनि प्रवेश पत्र आएन। हामीले वर्षभरी पढेको मेहनत खेर गयो’ उनले भने

परीक्षार्थीहरुले परीक्षामा सहभागी हुनका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेका थिए। तर उनीहरूको प्रवेश पत्र आएन। क्याम्पस भर्ना शुल्क, रजिस्ट्रेसन शुल्क, फारम शुल्क लगायत आवश्यक सबै शुल्क बुझाएको भए पनि क्याम्पस प्रशासनको लापरबाहीका कारण आफूहरु परीक्षा दिनबाट वञ्चित भएको विद्यार्थीहरूको आरोप छ। 

उता अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्रबहादुर बिष्ट्ले भने फारम भरेर पनि प्रवेश पत्र नआएको विद्यार्थीको गुनासोका विषयमा क्याम्पस प्रशासन गम्भीर बनेको बताएका छन्। घटनाका सन्दर्भमा जानकारी भएसँगै उक्त विषयमा छानबिन गर्न समिति गठन भइसकेको उनले बताए।  ‘केही दिन भित्रै घटनाको वास्तविकता बाहिर आउने र दोषीलाई कारबाही हुन्छ’ उनले भने।

घटनाको अनुसन्धान पुरा हुनु अगावै विभिन्न तर्क गर्नु हतार हुने बताउँदै उनले केही दिनमै घटनाको सबै वास्तविकता बाहिर ल्याउने प्रतिवद्धता जनाए। 


 

कमेन्ट लोड गर्नुस