धनगढीमा तालको गुरुयोजना बन्छ, अतिक्रमण हट्दैन
धनगढी : धनगढी उपमहानगरपालिकाले वडा नम्बर ११ को बेला तालको गुरुयोजना बनाएको छ। तालमा पर्यटन पूर्वाधार विकास गर्न गुरुयोजना बनाइएको हो। तर ताल क्षेत्रमा भएको अतिक्रमण भने हटाइएको छैन।
२०५४ सालभन्दा अगाडि झण्डै पाँच विघा क्षेत्रफलमा फैलिएको ताल अतिक्रमणको चपेटामा परेको छ। अहिले त्यो ताल एक विघा ५ कट्ठामा मात्रै सिमित छ। सीताराम सामुदायिक वनको संरक्षणमा हुँदासम्म पुरै ताल संरक्षण गरिएकोमा अहिले आएर भने तालको चार भागमध्ये तीन भाग अतिक्रमण गरेर खेती गर्न थालिएको बेलाका स्थानीय पहिलाद रानाले बताए।
‘बेला ताल त सकियो भन्दा हुन्छ,’ उनले भने, ‘ताल अतिक्रमण भएको १०÷१५ वर्ष भयो होला। तर अतिक्रमण हटाउने प्रयास भएको छैन।’ वडा नम्बर ११ मा बेला मटियारी रोड किनारमा करिब २ बिघा क्षेत्रफलमा फैलिएको चौफेरी तालको भने स्थानीयको सक्रियतामा संरक्षण गरिएको वडा अध्यक्ष गंगाराम राना बताउँछन्। यसैगरी झण्डै २ विघामा फैलिएको दुर्जैया तथा ५ विघामा फैलिएको पधुनिया ताल भने सामुदायिक वन क्षेत्रमा भएकोले अतिक्रमणको चपेटामा नरहेको वडा अध्यक्ष रानाको भनाइ छ।
‘चौफेरी ताल व्यक्तिको जग्गाको बीचमा छ। एक तर्फ मात्रै बाटोसँग जोडिएको छ। स्थानीयको सक्रियतामा यो तालको संरक्षण गरिएको छ। दुर्जैया तालमा भएको अतिक्रमण पनि हटाइएको छ,’ उनले भने, ‘ बेला ताल भने पहिला ठुलो नै थियो भन्ने सुनेको हो। तर अहिले साँघुरो भएको छ।’
बेला ताल तथा त्यो तालसँग जोडिएको मन्दिर सहितको क्षेत्र समेटेर धनगढी उपमहानगरपालिकाले बेला ताल धाम विकास समिति गठन गरेको छ। बेला ताल धामको संरक्षण तथा विकास गर्न गुरुयोजना बनाएर पूर्वाधार विकासका कामसमेत भइरहेका छन्।
तर गुरुयोजना तयार गर्दा अतिक्रमित तालको जग्गा खाली गर्नुपर्ने भएपनि खाली नगरी ताल अतिक्रमणलाई उपमहानगरले बैधता दिने काम गरेको स्थानीयले बताएका छन्। गुरुयोजना बनाउँदा बेला तालको मिचिएको जग्गा किन खाली गरिएन ? भन्ने प्रश्नको जवाफमा बेला ताल धाम विकास समितिका अध्यक्ष कविराज जोशीले स्थानीयको सहमतिमा अहिलेको ताल क्षेत्र संरक्षण गरिएको बताए। ‘ताल अतिक्रमण भएपछि यहाँका स्थानीय बसेर थप अतिक्रमण नगर्ने र ताल सहितको बाँकी जग्गा संरक्षण गर्ने सहमति भएको हो,’ उनले भने, ‘तालको बाँकी टुक्रा बचाउने, तालतर्फ कसैले पनि एरिया नबढाउने भनेपछि पुरै ताल लिन नसकिएको हो।’