बंगलादेशी महिला टोली नेपालमा
काठमाडौं : नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली सोमबार नेपाल आइपुगेका छन् । टोलीलाई महिला समितिकी अध्यक्ष बृन्दा देवान, वुमन्स कमिटीकी संयोजक पेमा लामा, एन्फाका मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलगायतले बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। मैत्रीपूर्ण खेल पहिलो बिहीबार र दोस्रो आइतबार हुनेछ।
महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ। जसमा ७ नयाँ खेलाडीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपालले एसिया कप छनोटको तयारीका सिलसिलामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले हङकङ र फिलिपिन्ससँग अर्काे महिना खेल्दैछ।
उज्वेकिस्तानमा हुने छनोटमा नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ४ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष टोली भारतमा अर्को वर्ष हुने एसिया कपका लागि छनोट हुनेछ। अखिल नेपाल फुटबल संघले मैत्रीपूर्ण खेलका लागि भीआईपीतर्फ ५ सय र साधारणतर्फ २ सय रुपैयाँ टिकट दर तोकेको छ।