सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना रोकथाममा सामाजिक विकास मन्त्रालयद्वारा एक वर्षमा झण्डै १२ करोड खर्च

२०७८ भदौ २१, ०६:३१ नारायण अवस्थी

धनगढी: कोरोना नियन्त्रण तथा रोकथाम गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले झण्डै १२ करोड खर्च गरेको छ।  गत आर्थिक वर्षमा प्रादेशिक अस्पताल, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जिल्ला अस्पताल, स्वास्थ्य निर्देशनालय, स्थानीय तह तथा गैरसरकारी संस्थालाई बजेट दिएर ११ करोड ७६ लाख खर्च गरेको भएको हो।

सामाजिक विकास मन्त्रालयले कोरोना कोष परिचालन तथा व्यवस्थापन समितिको २०७८ बैशाख २८ गते तथा जेठ ४ गतेको निर्णय अनुसार प्राप्त भएको बजेट स्वास्थ्य सामग्री खरिद, आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापन, पिसिआर ल्याव सञ्चालन, अक्सिजन सिलिण्डर तथा कन्सन्ट्रेटर खरिदमा खर्च भएको जनाएको छ।

सामाजिक विकास मन्त्रालय आफैंले आइसोलेसन तथा उपचार व्यवस्थापनमा १ करोड ५० लाख खर्च गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न १ करोड ४५ लाख दिइएको छ भने व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न भनेर १ करोड बजेट दिइएको छ।

मन्त्रालयले सेती अस्पताललाई उपचार तथा आइसोलेसन व्यवस्थापन गर्न ५० लाख दिएको छ भने विविध खर्च शिर्षकमा प्रदेश स्वास्थ्य निर्देशनालयलाई १ करोड ५० लाख बजेट दिएको छ। स्थानीय तहमध्ये अछामको कमल बजार नगरपालिकालाई १५ लाख, डोटीको जोरायल तथा केआईसिंह गाउँपालिकालाई समान १०÷१० लाख, दार्चुलाको शैल्यशिखर नगरपालिकालाई २० लाख तथा कैलालीको लम्की चुहा नगरपालिकालाई १५ लाख बजेट दिएको छ।

यसैगरी गेटा मेडिकल कलेजमा आइसोलेसन सेन्टरका लागि गोदावरी नगरपालिकालाई २५ तथा धनगढी उपमहानगरपालिकालाई २५ लाख रकम दिएको छ। यस्तै अक्सिजन प्लान्ट निर्माणका लागि ह्युमानिटी फाउण्डेसन कैलालीलाई भने १ करोड बजेट विनियोजन गरिएकोमा ५० लाख मात्रै पेश्की स्वरुप दिएको सामाजिक विकास मन्त्रालयको विवरणमा उल्लेख छ।

सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा आइसोलेसन तथा उपचार व्यवस्थापनमा सबैभन्दा बढी ३ करोड २३ लाख गरेकोे छ। व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री खरिदमा २ करोड ५० लाख, अक्सिजन सिलिण्डर खरिद गर्न १ करोड १० लाख, अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न १ करोड ४५ लाख, आइसोलेसन निर्माण गर्न ५० लाख, पिसिआर ल्याव सञ्चालन गर्न ३० लाख तथा विविध शिर्षकमा २ करोड ५० लाख खर्च भएको मनत्रालयको तथ्यांकमा उल्लेख छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस