मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल भारतसित पराजित
काठमाडौँ: भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो।
भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरे। नेपालका लागि सान्त्वना गोल तेज तामाङले गरे। पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो। नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए। दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन।
दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गरेका थिए। यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गरे। उनी बिनाअवरोध सहजै गोल गर्न सफल भए। भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो। खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे। उनले झण्डै २० यार्ड टाढाबाट गोल गरेका थिए।
नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक÷एक गोलको बराबरी खेलेका थिए। नेपालका लागि अन्जन विष्टले गोल गर्नुभएको थियो भने भारतका लागि अनिरुद्ध थापाले गोल गर्न सफल हुनुभएको थियो । आज खेलको ७४औँ मिनेटमा भारतीय टोलीका प्रशिक्षक इगिर स्टिमिकले पहेँलो कार्ड पाएका थिए। भारतविरुद्धको दोस्रो खेलमा नेपालका राजन गुरुङ र गोलकिपर विशाल श्रेष्ठले डेब्यु गरेका थियो।