भीम रावलको गृह जिल्लामा नेकपा (एस)मा १२ जनप्रतिनिधिले गरे सनाखत
एकेन्द्र खत्री, अछाम: एमाले नेता भीम रावलको गृह जिल्ला अछाममा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या १२ पुगेको छ। शुक्रवार १ र आज आइतबार ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै नेकपा (एस) पार्टी रोज्नेको संख्या १२ पुगेको निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए।
आइतबार साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर र उपप्रमुख बिर्मला देवी बुढ्थापाले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। नगर प्रमुख कुँवर र उपप्रमुख बुढथापासँगै मेल्लेख र चौरपाटी गाउँपालिकाका ११ जना जनप्रतिनिधिले नेकपा (एस) रहेको भन्दै सनाखत गराएको जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले बताए।
यसअघि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले पनि नेकपा (एस)मा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका थिए।