सुदूर नेपाललाई विश्वसँग जोड्दै

तालको बजेटमा संरक्षण समिती र गाउँपालिकाको गिद्धे दृष्टि

२०७५ मंसिर १६, ०६:४१ कमल सावद

कैलालीको कैलारी गाँंउपालिकामा रहेको कोईलही तालको प्रवद्र्धनका लागि आएको बजेटमाथि ताल संरक्षण समिती र गाउँपालिकाको गिद्धे दृष्टि देखिएको छ। गाउँपालिकाले कोईलही ताल संरक्षणको जिम्मा पाएको समितिले आर्थिक अनियमितता गरेको अरोप लगाएको छ भने समितीले भने गाउँपालिकालाई ताल हस्तान्तरण नगर्दा झुटो आरोप लगाएको बताउदै आएको छ।पूर्वाधार निर्माण गरेर नेपाली सेनाले संरक्षणको जिम्मा एउटा समितीलाई दिएपछि सो ताल अवलोकनका लागि आउने पर्यटकबाट उठाईने रकममा आर्थिक अनियमितता भएको आरोप जनप्रतिनिधिहरुको छ। ७२ हेक्टर क्षेत्रफलमा फैलिएको कोईलही ताल क्षेत्रमा सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको तालतलैया संरक्षण कार्यक्रम अन्र्तगत नेपाली सेनाले पूर्वाधार खडा गरेर संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो।

आर्थिक वर्ष २०७३/७४ मा एक करोड खर्च गरेर नेपाली सेनाले ताल क्षेत्रमा डुङ्गा, भ्युटावर, पिक्निक क्षेत्र, शौचालय लगायतका भौतिक संरचना निर्माण गरेपछि तालको अवलोकनका लागि पुग्ने पर्यटकको संख्यामा बृद्धि भएको थियो। ताल  संरक्षण समितिले घुम्न आउने हरेक व्यक्तिबाट १० रुपैया र डुङ्गा चढेमा २५ रुपैया लिदै आएपनि त्यो रकमको कुनै लेखाजोखा नभएको आरोप लागेको छ।  कैलारी गाँउपालिकाका अध्यक्ष लाजुराम चौधरीले ताल संरक्षण समितिले आर्थिक अनियमितता गरेको आरोप लगाए। गत आर्थिक वर्षमा ५ लाख आम्दानी भएको बताउने कोइलही ताल संरक्षण समितिले जनाएको छ। तर बार्षिक रुपमा भईरहेको आम्दानी र खर्चको विषयमा भने संरक्षण समितीका अध्यक्ष शिहिलाल चौधरी पनि अनभिज्ञ छन्। कैलारी गाउँपालिका वडा नम्बर ९ मा रहेको जैविक विविधताले भरिपूर्ण कोईलही तालमा आवश्यक भौतकि पुर्वाधारको विकास गर्दै बजेटको सहि सदुपयोग भए महत्वपुर्ण पर्यटकीय गन्तव्य बन्ने थुप्रै आधारहरु छन्।

गाँउपालिकाले आफूलाई हस्तान्तरण गर्न गरेको आग्रहलाई संरक्षण समितिले नमान्दा पनि ताल क्षेत्रको विकासमा समस्या भएको छ। गाउँपालिका र संरषण समितीको लडाईले तालमा पछिल्लो समय कुनै पनि पुर्वाधार खडा भएका छैनन्। संरक्षण समितीकै मातहतमा रहने गरि ताल क्षेत्रमा लगानी गर्न गाउँपालिका तयार देखिएको छैन्। सामान्य पूर्वाधार हुँदा आन्तरिक पर्यटक तान्न सफल कोईलही तालमा गत  आर्थिक बर्षमा मात्र एक करोड ६५ लाखका संरचना सेनाले खडा गरेको छ। पाँच बर्षिय योजना अन्तरगत यो बर्ष दुई पिक्नीक स्पोट, ताल संरक्षणका लागि ड्याम, खाने पानीका लागि ट्याङ्की लगायतका भौतिक संरचना पुन सेनाले निर्माण गरेको छ। कोईलही ताल र नजिकै रहेको भादा होमस्टेसम्म संयुक्त ‘टुर प्याकेज’ बनाएर पर्यटक भित्र्याउन सकिने सम्भावना छ। तर संरुष समिती र गाउँपालिकाका जनप्रतिनिधि दुवै पक्षले तालको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भुमिका खेल्न सकेका छेनन्।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस