दार्चुलामा भारतीय हेलिकोप्टर उडेकोप्रति राष्ट्रिय जनमोर्चाको विरोध
दार्चुला: राष्ट्रिय जनमोर्चा पार्टीले नेपालको स्वीकृतिबिना दार्चुलामा पटक–पटक भारतीय हेलिकोप्टर उडेको खबरप्रति ध्यानाकर्षण भएको जनाएको छ। स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्नुका साथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौति दिएको जनमोर्चाले जनाएको हो।
जनमोर्चाले विज्ञप्ति नै जारी गर्दै उक्त हस्तक्षेपकारी कार्यका विरोध तथा भत्र्सना गरेको छ। त्यस प्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कुटनीतिक पहल गर्नुपर्ने कुरामा पार्टीले जोड दिएको पार्टीका महासचिव मनोज भट्टद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
महाकालीको तुइन काण्डका सम्बन्धमा छानविन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका सम्बन्धमा पनि पार्टीको ध्यान गम्भीररुपमा आकर्षित भएको उल्लेख गरिएको छ। ‘छानवीन समितिको प्रतिवेदन अनुसार भारतीय सुरक्षाकर्मीले तुइन चुडाली दिएका कारण जयसिंह धामीको मृत्यु भएको ठहर गरेको छ। त्यसअनुसार भारतीय सुरक्षाकर्मीद्वारा जयसिंह धामीको हत्या भएको कुरा स्वतः स्पष्ट नै छ’ विज्ञप्तिमा उल्लेख भनिएको छ।
जनमोर्चाले जयसिंह धामीको हत्यामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कडाभन्दा कडा सजाय गर्नका लागि नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्न जोड दिँदै मृतक जयसिंह धामीको परिवारलाई आवश्यक क्षतिपूर्ति दिन समेत माग माग गरेको छ।