सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाढीपहिरो पीडितको गुनासो : क्षतिको विवरण पनि संकलन भएन

२०७८ भदौ १६, ०४:३९ नारायण अवस्थी

दार्चुला: आइतबार राति दार्चुलामा परेको अविरल वर्षाको कारण जिल्लाको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा ठुलो क्षति भएको हो। वर्षापछि आएको बाढीपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन्। 

दुई जना घाइतेको हेलिकोप्टरबाट उद्दार गरि धनगढी ल्याइएको छ। बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा दर्जनौँ घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। दार्चुलाको तिंकर सडक छिन्नभिन्न भएर दुहुँ तथा व्याँस गाउँपालिकामा आवतजावतको मार्ग अवरुद्ध भएको छ। 

तर बाढीपहिरोपछि भएको धनजनको क्षतिको विवरण संकलन गर्न कोही नआएको गुनासो गरिएको छ। जिल्ला सदरमुकामबाट बाढीपहिरोग्रस्त ठाउँ नजिकै भएपनि क्षतिको निरीक्षण गर्न कोही नआएको दुहुँ गाउँपालिकाका स्थानीयले बताएका हुन्। 

सदरमुकामबाट नजिकै रहेको दुहुँ गाउँपालिकामा धनजनको क्षति हुँदा पनि कसैले वास्ता नगरेको स्थानीय पूर्णबहादुर बमले गुनासो गरे। ‘आइतबार राति बाढीपहिरो आएको हो तर हाम्रो ठाउँमा अहिलेसम्म कोही पनि आएका छैनन्। निजाङ खोलाको पुल बगाएको छ’ उनले भने, ‘पारीबाट मान्छे आएर फोटो खिचेर जान्छन्। एक जना पुलिस पनि आएको छैन।’

तर अधिकारीहरुले भने बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार तथा क्षतिको विवरण लिने काम भइरहेको दाबी गरेका छन्। बाढीपहिरोपछि स्थानीय प्रशासनलाई प्रदेश सरकार तथा संघीय सरकारबाट आवश्यक सहयोग जुटाउने काम आफूले गरिरहेको दार्चुलाबाट प्रदेश सभा सदस्य रहेकी कुमारी नन्दा बमले बताए।

‘दार्चुलाको दुहुँ गाउँपालिकाको सबै वडामा बाढीपहिरोले क्षति गरेको छ। अहिले निजाङ खोलामा काठे पुल हाल्ने काम भइरहेको छ’ उनले भने, ‘संघीय र प्रदेश सरकारबाट बाढीपहिरो पीडितलाई गाँस, बास र कपासको व्यवस्था छिट्टै मिलाउने व्यवस्था गरिने छ।’

दुहुँ गाउँपालिका वडा नम्बर ३ मा पर्ने निजाङ खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुंगे पुल पनि बगाएको छ। सो क्षेत्रमा रहेका आधा दर्जन घर तथा पसलहरु बगाएको छ। पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्धविच्छेद भएको छ।  तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी निजाङ खोलामा काठे पुल निर्माण गरेर आवतजावत सहज गर्ने तयारी भइरहेको बताए। ‘पुल हालेपछि हामी त्यो क्षेत्रमा आफै जाने छौँ’ उनले भने, ‘पुल नबन्दासम्म त त्यो क्षेत्रमा जान निकै मुस्किल थियो। हामीले कुनै ठाउँमा राहतसमेत दिन सकेका छैनौँ।’

बाटो खुलाउने काम सम्पन्न भएपछि मात्रै क्षतिको विवरण लिने स्थानीय प्रशासनले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस