सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा गौरा पर्वमा भिडभाड नगर्न आग्रह, अटेर गरे कारबाही

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १४, ०३:३५ रासस

डोटीः जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा जिल्लाभरीमा कुनै पनि ठाउँमा भिडभाड नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो।

जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भिडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए। उनले भने, “गौरा र तीजमा सामान्य पूजाआजाबाहेक अन्य भिडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानूनबमोजिम कारबाही हुने छ।”

गौरा पर्वको समयमा यहाँका ग्रामीण क्षेत्रमा देउडा खेल्ने तथा मानिसको बाक्लो सहभागिता हुने भएकाले ती क्षेत्रमा हुने भीडभाडलाई कम गराउन सम्बन्धित प्रहरीलाई पनि निर्देशन जारी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कमेन्ट लोड गर्नुस