सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली तुइन प्रकरणको एक महिनासम्म पनि छानबिन प्रतिवेदन सार्वजनिक भएन

२०७८ भदौ १३, ०६:४९ नारायण अवस्थी

धनगढी: गत साउन १५ गते भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउने क्रममा महाकाली नदीमा रहेको तुइन तर्न लाग्दा दाुर्चलाको व्याँस गाउँपालिका वडा नम्बर २ का जयसिंह धामी वेपत्ता भए। नदी पार गर्न बनाइएको तुइन भारतीय एसएसबीका जवानले फुकाल्दा जयसिंह नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका थिए। 

उक्त घटनापछि गृह मन्त्रालयको छानबिन टोलीले घटना मालघाट पुगेर अनुगमन गरेको  थियो। तर महाकाली तुइन प्रकरणको एक महिनासम्म पनि छानबिन समितिले प्रतिवेदन सार्वजनिक नगर्दा पीडित परिवारमा चिन्ता बढेको छ। गृह मन्त्रालयको छानबिन टोलीले पटकपटक म्याद थप गरि प्रतिवेदन सार्वजनिक नगरेपछि पीडित परिवारमा चिन्ता बढेको हो। 

भारतीय सीमा सुरक्षा बल(एसएसबी) संलग्न रहेको निष्कर्ष आउने भएपछि राहत रकम दिएर अनुसन्धान मत्थर पार्न खोजेको आशंका बेपत्ता धामीका भाइ नरेन्द्र धामीको छ। ‘सरकारले छानबिन गरेर यथार्थ बाहिर ल्याउन अझै सकेको छैन। प्रतिवेदन सार्वजनिक गर्नुभन्दा राहत दिने निर्णय सरकारले गरेको छ,’ उनले भने, ‘भारतको दबाबका कारण छानबिन प्रतिबेदन बाहिर नआएको पो हो कि भन्ने हामीलाई लाग्न थालेको छ।’

१० दिनभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न गत साउन २० गते सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। तर छानविन समिति गठन भएको २६ दिन भइसक्दा पनि प्रतिवेदन सार्वजनिक भएको छैन।  

छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी सरकारले जयसिंह धामीको परिवारलाई १० लाख राहत प्रदान गर्ने निर्णय गरेको छ। समितिबाट भारतीय सुरक्षाकर्मी प्रत्यक्ष संलग्न रहेको निष्कर्ष आउने ‘ब्रिफिङ’ भएपछि नेपाल सरकारले प्रतिवेदन लेखनमै जानाजान ढिलाई गराउँदै पीडित परिवारलाई ‘राहत रकम’ दिएर अनुसन्धान मत्थर बनाउने कोसिस गरेको आरोप लाग्न थालेको छ। 

उता महाकालीमा जयसिंह धामी वेपत्ता भएको घटनापछि व्याँस गाउँपालिकावासीले भारत प्रवेश गर्न नपाउँदा दैनिक उपभोग्य सामग्रीको अभाव भएको स्थानीय बहादुरसिंह धामीले बताए। ‘हामीले तुइन लगाउन पाएका छैनौँ। गाउँमा खाद्यान्नको अभाव भएको छ। भारत जान पाइएको छैन, सदरमुकाम हिँडेर जानुपर्छ,’ उनले भने, ‘सरकारले छिटो प्रतिवेदन ल्याए भारत जान मिल्थ्यो कि ?’ 

घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित छानबिन समितिको अवधि यसबीचमा तीन पटक थपिएको छ । सरकारले गठन गरेको छानबिन समिति घटनास्थलमै पुगेर काठमाडौँ फर्किएपनि अहिलेसम्म प्रतिवेदन भने सार्वजनिक भएको छैन। छानबिन समितिले भारतीय एसएसबीकै कारण जयसिंह बेपत्ता भएको प्रतिवेदनमा ल्याउने संकेत गरेपछि सरकारले नै प्रतिवेदन सार्वजनिकमा ढिलाई गरेको आरोप लाग्न थालेको छ। तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने मंगलबारसम्म प्रतिवेदन सार्वजनिक हुने जानकारी दिए। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस