सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको ५ पर्यटन करिडोर निर्माण गर्ने योजना अलपत्र

२०७८ भदौ १२, ०६:३४ कमल सावद

धनगढीः सुदूरपश्चिम सरकारको ५ पर्यटन करिडोर निर्माण गर्ने योजना अलपत्र परेको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले खक्रौला–टीकापुर–कर्णाली पर्यटन करिडोर, महाकाली नदी करिडोर लगाइतका ५ योजनाहरु अलपत्र पारेको हो।

आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड पर्यटन करिडोर निर्माणका लागि बजेट विनियोजना गरिएकोमा काम भएन। गत आर्थिक वर्षमा पनि बजेट विनियोजन गरिएको थियो। तर चालू आर्थिक वर्षमा पर्यटन करिडोर निर्माणका योजनाका लागि प्रदेश सरकारले रकम विनियोजन गरेको छैन। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतकुमार श्रेष्ठले प्रदेश पर्यटन गुरुयोजना निर्माणको चरणमा रहेको बताए। उनले भने, ‘प्रदेश पर्यटन गुरुयोजना निर्माणको चरणमा छ। अबको १५ दिनभित्र हामीले पाउँछौ। अब गुरुयोजना अनुसार पर्यटन विकासका काम हुन्छन्। पूर्वाधार निर्माण हुन्छन्।’

पर्यटन करिडोर निर्माणका योजना कार्यान्वयनमा असफल देखिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकासको गुरुयोजना निर्माणको चरणमा रहेको दाबी गर्न थालेको छ। पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले गुरुयोजना निर्माणपछि पूर्वाधार निर्माणका लागि बजेट विनियोन हुने बताइन्। ‘गुरुयोजना निर्माण हुँदैछ। एक जिल्लाबाट अर्काे जिल्ला जोड्न करिडोर निर्माणको अवधारणा ल्याएका हौ। गुरुयोजनापछि काम हुन्छ’ उनले भनिन्। 

पर्यटन करिडोर निर्माणका योजनासँगै अन्य योजनाहरु समेत मन्त्रालयमा अधुरा रहेका छन्। ८३ लाख ४२ हजारमा कञ्चनपुरको भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणको योजनाको काम अधुरो छ। ३५ लाख ९५ हजार खर्च भएको उक्त योजनाको समय अवधि समेत सकिएको भएपनि रकम अभावका कारण काम पूर्ण भएको थिएन।

यसरी मन्त्रालयले विगतका वर्षमा करोडौँ रकम खर्च गरेका योजना अधुरा राखेर अलपत्र छाड्न थालेको छ। मन्त्रालयका प्रवक्ता श्रेष्ठ भने कार्ययोजना अनुसार काम नभएको भएपनि चालु आर्थिक वर्षमा सोही अनुसार काम गर्ने दाबी गर्छन्।  


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस