२४ दिन जन श्रमदान अनिवार्य
बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महिनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रम अनुसार प्रत्येक घरधुरीले महिनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम बनाईएको हो । देश निर्माण र समृद्धिको अभियान आफैँबाट शुरुवात गर्ने उद्देश्य सहित प्रत्येक परिवारलाई सो गाउँपालिकाको विकासमा लगानी गर्न देशका लागि दुई दिन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकामा रहेका दुई हजार बढी परिवारले अबदेखि अनिवार्य रूपमा महीनाको दुई दिन गाउँपालिकाको काम निःशुल्क गर्नुपर्ने भएको छ । गाउँपालिकाका, संघीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि दुई दिन अनिवार्य काम गर्नुपर्ने प्रावधान गाउँ कार्यपालिकाको २२ औँ बैठकबाट निर्णय गरिएको हो ।
राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले शुरुआत स्वरुप कार्यक्रम यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । महीनाको ३० दिन काम गर्दा पनि २८ दिनको ज्याला पाउने र दुई दिन श्रमदान गर्नुपर्ने नीतिमै उल्लेख गरिएको उपाअध्यक्ष सीता थापाले बताईन् । लगानी र अनुदानमा बनिरहेका संरचनामा मात्र नभई, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ आदि कार्यमा अनिवार्य जनश्रमदान गरेकै हुनुपर्ने नीति बनाइएकोे ४ नम्बर वडाध्यक्ष वीरेन्द्र रोकायाले उल्लेख गरे । समाजमा विकासप्रति अपनत्व गराउन र विकास मेरा लागि हो, मैले पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउनका लागि यो योजनालाई अनिवार्य गरिएको गाउँपालिकाको भनाइ छ । यस विषयमा गाउँ कार्यपालिकाबाट नीति नै बनाउने तयारी भइरहेको छ ।
गाउँपालिकामा रहेका सबै घरधुरीले श्रमदान गरे÷नगरेको वडा कार्यालय र वडा कर्मचारीले निगरानी राख्नेछन् । स्वःस्फूर्त रूपमा काम नगर्ने र काम छल्ने परिवारलाई गाउँपालिकाले दिने सेवा सुविधाबाट बञ्चित गर्ने गरी कडाइ गरिएको गाउँपालिकाका नायब सुब्बा अङ्गत महतले बताउनुभयो । गाउँपालिकाले यसअघि मदिरा व्यवस्थापनका लागि मदिरा सेवन कार्ड वितरण गर्ने निर्णय गरेको थियो । मदिरा सेवन कार्डको निर्णयले अहिले गाउँपालिकामा राम्रो सन्देश प्रवाह भएको स्थानीय विनिस्ता धामीले जानकारी दिईन् ।