सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने
काठमाडौँ : नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।
अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो। गत वर्ष पनि उहाँ सोही टोलीमा अनुबन्धित भएका थिए। होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ।
गत वर्षको बिबिएलमा उहाँले आठ खेलमा आठ विकेट लिएका थिए। लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसक्नुभएको छ। सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उहाँले आठ खेलमा ११ विकेट लिनुभएको थियो। सन् २०१९ मा दोस्रो पटक बिबिएलमा उनले १३ खेलमा १५ विकेट लिनुभएको थियो।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि उनी हाल ओमानमा छन्। उक्त सिरिजका कारण लामिछानेले यस पटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता त्यागेका थिए।
यसपटक उनले राहदानीको समस्याका कारण बेलायतमा भएको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाएका थिए।