सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादी गठनको असर सुदूरपश्चिम प्रदेश सभामा

२०७८ भदौ १०, ०६:०८ नारायण अवस्थी

धनगढी: शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि केन्द्रमा नेकपा एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ। माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएसँगै सुदूरपश्चिम प्रदेश सभाको समीकरणबारे पनि चर्चा हुन थालेको छ। 

सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन्। तर एमाले विधिवत विभाजन भएपछि भने प्रदेश सभामा ५ दलको उपस्थिति रहने तथा सरकारको नेतृत्वमा समेत फेरबदल हुने देखिएको छ। 

५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले २५ जना सदस्यसहित सबैभन्दा ठूलो दल रहेको थियो। तर एमाले औपचारिक रुपमै विभाजित भएपछि प्रदेश सभाको परिदृश्य बदलिने भएको छ। विगतमा एमालेमा दुई समूह देखापर्दा माधव नेपाल समूहमा १७ जना प्रदेश सभा खुलेका थिए। तर माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरेसँगै एमालेका २४ जना सांसदहरुले कुन पार्टी रोज्लान भन्ने विषयलाई चाँसोका साथ हेरिएको छ। 

१७ जना प्रदेश सभा सदस्य माधव नेपाल समूहमा खुलेको भएपनि अब भने त्यो संख्यामा तलमाथि हुने दाबी गरिएको छ। तर कैलालीबाट निवार्चित प्रदेश सभा सदस्य भने एकजुट भएर नेकपा एकीकृत समाजवादीमा आवद्ध हुने प्रदेश सभा सदस्य अमरबहादुर साँउदको दाबी छ। ‘हामी कैलालीबाट निर्वाचित भएका सबै एकै ठाउँमा छौँ। अन्य माननीय ज्यूहरुले पनि १९ दिनभित्र आफ्नो कित्ता स्पष्ट पार्लान’ उनले भने, ‘हिजोको माधव समूहबाट तीन चार जना एमालेमा रहन सक्छन्।’ 

विगतमा १७ जना प्रदेश सभा सदस्य नेता भीमबहादुर रावल निकट भएकोले माधव नेपाल समूहमा लागेको बताइने गरिन्थ्यो। अहिले भने भीम रावल एमालेमै रहेपनि प्रदेशका अधिकांश सदस्य नयाँ पार्टीमा लाग्ने दाबी गरिएको छ। विगतमा माधवकुमार नेपाल पक्षमा रहेका प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले भने प्रदेश सभाका केही सदस्य बाहेक अरु कुन पार्टीमा जान्छन् भन्ने  नखुलेको बताए। ‘एकहप्ता भित्रै को कहाँ जान्छ त्यो थाहा हुने छ। मेरो कुरा गर्ने हो भने म एमालेमै छुँ’ उनले भने, ‘सुदूरपश्चिमका माननीय ज्यूहरुले एकै ठाउँमा रहनुपर्छ भन्ने मेरो आग्रह छ।’

नेकपा एमालेको विभाजनले प्रदेश सरकार समेत परिवर्तन हुने देखिएको छ। अहिले सरकारमा आर्थिक मामिला मन्त्री रहेका प्रकाशबहादुर शाह साविककै एमालेमा रहेको अवस्थामा उनलाई सरकारबाट  मुख्यमन्त्री त्रिलोचन भट्टले हटाउन सक्छन्। केही दिनभित्रै एमाले र नेकपा एकीकृत समाजवादीमा कति सदस्य रहने भन्ने टुङ्गो लाग्नासाथ भट्ट नेतृत्वको सरकार रहने या नरहने कुराको छिनोफानो समेत हुनेछ। 

यदि नेकपा एमालेका नेताहरुले दाबी गरे झै समाजवादीमा केवल ६ या ७ जना सदस्य मात्रै रहेमा त्रिलोचन भट्ट सरकारले सत्ता साझेदारीका लागि नेपाली कांग्रेसको सहयोग माग्नुपर्ने छ। नेकपा एमालेमा रहने सदस्य संख्याबारे प्रदेश सभा सदस्य लिलाधर भट्टको अनुमान भने फरक छ। ‘अहिले म कसैको सम्पर्कमा छैन तर नेकपा एकीकृत समाजवादीमा भने ६ या ७ जना मात्रै रहलान्’ उनले भने, ‘पार्टी छनोट गर्ने अझै समय सीमा बाँकी छ। साथीहरुले केही दिनमै आफ्नो समर्थन स्पष्ट पार्लान्।’

नेकपा एमालेको विभाजनले सुदूरपश्चिम प्रदेशले पनि दोस्रो मुख्यमन्त्री पाउन सक्ने सम्भावना देखिएको छ। यसैगरी केवल ७ जना सदस्यमा सीमित नेकपा एमालेको संस्थापन पक्षमा भने संख्या बढ्ने अनुमान गरिएको छ। सभामुखसहित २५ जना सदस्य रहेको नेकपा एमालेका ६ जना प्रदेश सभा सदस्य भने नयाँ पार्टीमा खुलेर लागेको बताइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, पूर्व मन्त्री माया भट्ट यसअघि नै समाजवादीमा केन्द्रीय सदस्य भइसकेका छन् भने भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी, प्रदेश सभा सदस्य अमरबहादुर साँउद, कृष्णराज सुबेदी र बलबहादुर सोडारी नयाँ पार्टीमा खुलीसकेको दाबी गरिएको छ। 

यद्यपि नेकपा एमाले र नेकपा समाजवादीमध्ये एकलाई रोज्न स्थानीय तथा प्रदेशका निवार्चित जनप्रतिनिधिलाई निर्वाचन आयोगले २१ दिनको समय सीमा दिएको थियो। अबको १९ दिनपछि सबैले आ–आफ्नो पार्टी रोज्नुपर्नेछ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस