गण्डकी प्रदेशमा २६९ सङ्क्रमित
गण्डकी: गण्डकी प्रदेशमा २६९ कोरोना सङक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा चार सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ जना पुगेको छ । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ का ६८ वर्षीय पुरुष छन् भने कास्कीका तीन जनामध्ये पोखरा महानगरपालिका– १० की १०२ वर्षीय महिला, वडा नं १५ की ३५ वर्षीय महिला र वडा नं २६ का ८२ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।
निर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ६५४ सङ्क्रमित निको भएका छन्। प्रदेशमा चार हजार २१० होमआइसोलेशनमा छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५७८ पुगेको निर्देशनालयले जनाएको छ।