सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सडकमा गुणस्तरहीन काम, हिलो र जमेको पानीमै नाली ढलान

२०७८ भदौ ७, ०६:४७ नारायण अवस्थी

धनगढी:  धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेका सडकमा गुणस्तरहीन काम भइरहेको स्थानीयले आरोप लगाएका छन्। धनगढीको डिभोटी होटेल–पिपल चौतारा सडक तथा सहिद गेट–क्याम्पस चोक सडकमा जमेको पानी तथा हिलोमै नाली ढलानको काम भइरहेको आरोप स्थानीले लगाएका हुन्। 

वर्षा भइरहेको बेला रातिको समयमा निर्माण कम्पनीले गुणस्तरहीन काम गरिरहेको स्थानीयको आरोप छ। त्यति हुँदा पनि सरोकारवाला निकाय भने बेखबर रहेको स्थानीयले गुनासो गरेका छन्। 

हसनपुरका स्थानीय नारायण सत्यालले कामको गुणस्तर परीक्षण तथा अनुगमन नभएको गुनासो गरेका छन्। ‘धनगढीमा अहिले सडकको नाली ढलानको काम पानी र हिलोमै रातिको समयमा भइरहेको छ। काम हेर्ने सरकारी अधिकारी कोही हुँदैनन्’ उनले भने, ‘कालिका कन्सट्रक्सनले कमसल काम गरिरहेको छ।’

धनगढीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडक निर्माणको ठेक्का कालिका कन्सट्रक्सनले पाएको छ। निर्माण कम्पनीले भने बर्सातको समय भएकोले थोरै कामदार लगाएर गर्न सकिने काम मात्रै भइरहेको बताएको छ। ढलान गर्नुपर्दा सडक निर्माणको गुणस्तर तथा दिगोपनामा असर नहुने गरी काम भइरहेको निर्माण कम्पनीका सम्पर्क व्यक्ति प्रकाशचन्द्र  खरेलले दाबी गरे। ‘हामीले बर्सातको समय भएको र निर्माण सामग्रीको अभावको कारण थोरै कामदार लगाएर काम गरिरहेका छौँ’ उनले भने, ‘मोटर लगाएर पानी तानेर मात्रै ढलान गर्ने गरेका छौँ। गुणस्तरमा सम्झौता गर्ने काम हुन्न।’

निर्माण कम्पनीले सडक निर्माणमा कुनै कमजोरी नरहेको बताएपनि स्थानीयले भने कम्पनीको काम सन्तोषजनक नरहेको बताउँदै आएका छन्। कम्पनीका इन्जिनियर तथा संघीय आयोजना कार्यान्वय इकाइले समेत कामको अनुगमन नगरेको गुनासो गरिएको छ। 

तर शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका प्रमुख इन्जिनियर प्रविन शाहले भने गुनासो आएको ठाउँमा अनुगमन गर्न प्राविधिक पठाउने बताए। 

धनगढीमा एशियाली विकास बैंकको ऋण लगानीमा संघीय सरकारले क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत १० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ। धनगढीमा सहिद गेट–क्याम्पस चोक सडक, डिभोटी–हसनपुर–पिपल चौतारा सडक, मालपोत सडक, चर्च–प्रहरी गुल्म–भन्सार रोड सडक तथा ट्राफिक चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माण गरिने छन्।


  

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस