सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’(भिडियोसहित)

२०७८ भदौ ७, १२:३९ खबर संवाददाता

धनगढीः जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा ! लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो। हालसालै उनको स्वरमा ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। यस गीतले यतिबेला चर्चा पाईरहेको छ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको भट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ। सुन्दरमणी अधिकारीको शब्द÷संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ।

सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ। शिव बिकको कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन्। तीज जति–जति नजिक आउँदैछ, नयाँ–नयाँ तीज गीत र भिडियोहरु सार्वजनिक भईरहेका छन्।

अधिकांश गीतहरुले तीजको मौलिकता गुमाएको गुनासो आईरहेको समयमा यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत भनेका छन्। तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ। खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ।

गीतले यतिबेला युट्युब र टीकटकमा निकै चर्चा बटुल्दै गएको छ। पाँच दिनअघि सार्वजनिक गीतलाई युट्युबमा १८ लाख बढी पटक हेरिसकिएको छ भने युट्युबमा ५ हजार ६ सय बढी प्रतिक्रिया आईसकेका छन्। अधिकांशले गीतको प्रशंशा गरेका छन्। गीतका शब्द, विष्णुको सुमधुर स्वरको स्रोता एवं दर्शकहरुले तारिफ गरेका छन्। ‘तीज गीत भनेको यस्तो हुनुपर्छ’ भन्ने खालका थुप्रै प्रतिक्रिया युट्युबमा पाईन्छ।

शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन्।

कमेन्ट लोड गर्नुस