'जथाभावी फोहोर नफाल' भन्ने धनगढी उपमहानगरले बस्तीमा दुर्गन्ध फैलायो
धनगढी: जथाभावी फोहोर फाल्दा स्थानीयवासीलाई कारबाही गर्ने दाबी गर्दै आएको धनगढी उपमहानगरपालिका आफैले बस्तीमा दुर्गन्ध फैलाएको आरोप लागेको छ। धनगढीको तारानगर भएर बग्ने सुकुटी नाला किनारमा फोहोरमैला थुपारेर उपमहानगरपालिकाले दुःख दिएको स्थानीयको गुनासो छ।
धनगढी उपमहानगरपालिकाले दिनहुँ बजारबाट फोहर संकलन गर्दै बजार क्षेत्रमै रहेको बस्ती नजिकैको सुकुटी खोला किनारमा फाल्दा दुर्गन्ध फैलिएको स्थानीयले गुनासो गरेका हुन्। ता रानगर पारी तथा एलजी स्कुल पछाडिको खोला किनारमा फालिएको फोहरले घरमा बस्न नकिने अवस्था आएको तारानगरका स्थानीय बहादुरसिंह खत्रीको गुनासो छ।
‘बाटो बनाउने बहानामा हाम्रो टोलको बीचमा फोहर ल्याएर फाल्ने काम भएको छ। बाटो नै बनाउने भए ग्राबेल, माटो हाल्न पनि सकिन्थ्यो। टोलमा ल्याएर फोहर फाल्ने काम उपमहानगरपालिकाले गरेको छ’ उनले भने, ‘हाम्रो त घरभित्रसम्मै दुर्गन्ध आउँछ।’
जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको सुकुटी नाला किनारको उक्त जग्गामा बाटो बनाउने भनेर धनगढी उपमहानगपालिकाले केही महिनादेखि बजारको फोहर फाल्दै आएको छ। सुकुटी नालाको पुल छेउबाट सडक किनारमै पनि फोहर फालिएको छ। जसका कारण नजिकै रहेको पसलमा बस्न निकै मुस्किल हुने गरेको पसल सञ्चालक मोहम्मद स्माइल कुरैसीले बताए।
‘हामीले फोहर फाल्ने कार्यको धेरै विरोध गर्यौँ तर सुनुवाइ नै भएन। कहिलेकाँही नगर प्रहरी आउँछन्, जान्छन्’ उनले भने, ‘नगरपालिकामै फोहर फालेको भए त दुर्गन्ध आउँदा रोक्थे होला।’ हाम्रो दुःख उनीहरुलाई के थाहा ? यता बस्नै मुस्किल भएको छ।’
धनगढी उपमहानगपालिकाले भने नजिकै रहेको बस्तीमा बाटो बनाउन फोहर फालेको दाबी गरेको छ। उपमहानगरपालिकाले फोहर विसर्जन गरेर पुर्ने गरेको तथा अर्को एक संस्थाले अस्पताल तथा नगर क्षेत्रबाट उठाएको फोहर सडकबाट फाल्ने गरेको दाबी गरेको छ। त्यो ठाउँमा फोहर फाल्न सोमबारबाटै रोक्न लगाउने उपमहानगरपालिका सामुदायिक विकास तथा सरसफाइ शाखा प्रमुख टंकबहादुर विष्टले बताए।
‘हामीले फालेको फोहर माटोले छोप्ने गरेका छौँ। तर सडकबाट फोहर फाल्ने एउटा अर्को संस्था छ। हामीले नगर प्रहरी परिचालन गरेर समात्न पनि खोजेको हो। तर सम्भव भएन।’ उनले भने, ‘सोमबार त्यो संस्थाका पदाधिकारीलाई बोलाएर फोहर नफाल्न भन्छौ।’
धनगढी उप–महानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई जारिबाना लगाउने भनेर विभिन्न ठाउँमा सार्वजनिक सूचना समेत लगाएको छ। तर उपमहानगपालिका आफैले सहरको मध्य बस्तीको खोला किनारमा फोहर फाल्दै आएको छ।