बझाङमा पहिरोले दुई घर पुरिए, प्रहरी र सेनाको टोली उद्दारमा खटियो
धनगढीः लगातारको बर्सातका कारण आएको पहिरोले बझाङमा दुई घर पुरिएका छन्। बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएको प्रहरीले जनाएको छ।
पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका छन्।
स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए। घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए।
प्रहरी र नेपाली सेनाको टोली उद्दार कार्यका लागि खटिएको छ।