सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सरकारद्वारा २२० किलोमिटर सडक कालोपत्रे गरेको दाबी

२०७८ भदौ ३, ०६:२९ कमल सावद

धनगढी:  सुदूरपश्चिम प्रदेश सरकारले ४ वर्षमा दुई सय २० किलोमिटर सडक कालोपत्रे गरेको छ। तीन वर्षसम्म एक सय २८ किलोमिटर सडक कालोपत्रे गरेको प्रदेश सरकारले गत वर्ष ९२ किलोमिटर सडक कालोपत्रे गरेको दाबी गरेको हो। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा दुई सय ८५ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको छ। सडक तथा पूल निर्माण, जलस्रोत तथा सिँचाई भवन निर्माण र तटबन्धन निर्माणमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले साढे ४ अर्ब बढी बजेट खर्च गरेको छ।

६ अर्ब ३२ करोड ६६ लाख पूँजिगत बजेट रहेकोमा ४ अर्ब ५१ करोड २ लाख खर्चेर ९२ किलोमिटर सडक कालोपत्रे, २ सय ८५ किलोमिटर ट्रयाक निर्माण, एक सय ४३ किलोमिटर ग्राभेल र ८ वटा मोटरेवल पूल निर्माण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी छविराज जैशीले बताए।

१३ हजार २ सय ७८ परिवारमा खानेपानी बिस्तार, २ हजार ७ सय ८५ हेक्टर क्षेत्रफलमा सिंचाई कुलो निर्माण र १८ हेक्टरमा जमिनमा कटान नियन्त्रण गरिएको जैशीले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा जनता आवास कार्यक्रम मार्फत २ हजार ९ सय ९३ घर निर्माण, ८ सय १ घर निर्माणको चरणमा, २२ घर मर्मत र  एक सय ७३  सामुदायिक तथा सरकारी घर निर्माण गरिएको जनाइएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस