दार्चुलामा ५५ वर्ष माथिकालाई कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै
धनगढी: दार्चुलामा ५५ वर्ष माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै छ।
आजदेखि जिल्लाका ९२ वटा खोपकेन्द्रबाट ५५ वर्ष माथि उमेर समूहका सबैलाई कोभिशिल्डको दोस्रो मात्रा लगाउन थालिएको हो। मंगलबार भाद्र १ गतेदेखि बिहिबार ३ गतेसम्म जिल्लाका झण्डै १४ हजार ५ सय जना ५५ वर्षमाथिका सबैलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा १५ हजार कोभिशिल्ड खोप उपलब्ध गराएको बताइएको छ। दार्चुलामा हालसम्म ३६ हजार ७७९ जनाले विभिन्न खोपको पहिलो मात्रा लगाएका छन्। कोभिशिल्डको पहिलो मात्रा १७ हजार ३१५ जनाले लगाएको र दोस्रो मात्रा २ हजार ६७९ जनाले लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।