बैतडीको पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रम विवादित
ध्रुव बिष्ट, बैतडी: बैतडीको पाटन नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका विवादित योजनाहरूको पुनःमुल्याङ्कनमा ढिलाई भएको छ। साउन १३ गते बसेको नगरकार्यपालिकाको बैठकले यथोचित पुनःमुल्याङ्कन गर्ने निर्णय गरेको भएपनि हालसम्म सो विषयले गति लिन सकेको छैन।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार नगरका १० वटै वडामा रोजगार कार्यक्रम सञ्चालन भएपनि वडा नम्बर ३, ५, ८ र ९ का अधिकांश कार्यक्रम विवादमा मुछिएका छन्।
नगरप्रमुख केशवबहादुर चन्दले भने मुल्याङ्कनका लागि जिल्ला समन्वय समितिसँग प्राविधिक सहयोग मागेको भएपनि प्राविधिकहरू नपठाएकाले पुनःमुल्याङ्कनमा केही ढिलाई भएको स्वीकारेका छन्। साथै कामदारहरूलाई बहुवर्षीय कार्यक्रममार्फत भएपनि भुक्तानी गरिने नगरप्रमुख चन्दको भनाई छ।
करार रद्द गरिएका प्राविधिकद्वारा आलोचना
प्रधानमन्त्री रोजगार कार्यक्रममा पदिय दायित्व बहन नगरेको भन्दै जिम्मेवारीबाट हटाइएका सब–इन्जिनियर सुरेन्द्र चन्दले नगरपालिकाको निर्णयको आलोचना गरेका छन्। सोमबार दिउँसो उनले सामाजिक सञ्जाल फेसबुकमा ‘१० दिन भित्र पुनःमुल्याकन गरेर १ महिना भित्र भुक्तानी दिने नगरको निर्णय कता हरायो नगर प्रमुख ज्यु ?’ भन्ने स्टाटस राख्दै चर्काे आलोचना गरेका हुन्।
साउन १३ गतेकै नगर कार्यपालिकाको बैठकबाट सब–इन्जिनियर चन्दको करार सेवा रद्द गरिएको थियो।
आफुले आफ्नो कार्यक्षेत्रमा नियमसंगत तरिकाले पदिय दायित्व वहन गरिरहेको भएपनि राजनीतिक प्रतिशोध र व्यक्तिगत अहंकारका कारण पदमुक्त गराइएको उनको गुनासो छ।