महाकाली तुइन घटनाः छानबिन टोलीले अझै बुझाएन प्रतिवेदन, फेरि म्याद थप्ने तयारी
धनगढीः भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीमा तुइनको तार फुकाल्दा दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले अझै प्रतिवेदन बुझाएको छैन। छानबिन टोलीले १६ दिनसम्म पनि प्रतिवेदन नबुझाएको हो।
गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गर्दै १० दिनको समय दिएका थिए। घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीले समय अभाव भएको भनेपछि थप ७ दिन म्याद थपिएको थियो।
थपिएको समय मंगलबार सकिँदै छ। समितिका संयोजक गौतम भन्छन्, ‘प्रतिवेदनको विषयमा छलफल भइरहेको छ, भोलि बुझाउन नसकिए म्याद थपका लागि आग्रह गर्छौं।’ अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताए।
अनुसन्धानमा भारतीय असहयोग
घटनाको अनुसन्धानमा भारतीय पक्षले असहयोग गरेको छ। एसएसबीविरुद्ध बयान दिने कतिपय स्थानीयलाई धम्कीसमेत दिइएको खुलेको छ। धामीको खोजीमा ड्रोन प्रयोग गर्न पनि भारतले अनुमति दिएको छैन। सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीका अनुसार धामीको खोजीका लागि ड्रोन उडाउन खोजिएको थियो। तर भारतीय पक्षले हालसम्म जवाफ नदिएपछि धामीको नेपाली क्षेत्रमा मात्रै खोजी भएको उनले बताइन्।
यस्तै व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभावको समस्या समेत देखिएको छ। नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल एसएसबीले सबै तुइन बन्द गरेपछि सो क्षेत्रमा खाद्यान्न अभाव भएको हो। सो क्षेत्रका नागरिक भारतीय बजारमा निर्भर छन्।